सहकारी अभियानबारे छलफल

समाधान संवाददाता २०७६ साउन १९ गते १७:०६

समाधान संवाददाता

कोअपरेटिभ प्रेसिन्टेस सोसाइटी (कोप्स)ले शनिबार पोखरा महानगरपालिकाभित्रका सहकारीका अध्यक्षको क्षमता अभिवृद्धिसम्बन्धी गोष्ठी आयोजना गरेको छ । कोप्स सहकारी संस्था र सहकारी संस्थाका अध्यक्षको साझा र छाता संगठन हो ।

‘आर्थिक समृद्धिको नेतृत्व, हाम्रो दायित्व’ विषयक सो गोष्ठीबाट सहकारी अभियानको मेरूदण्डको रूपमा रहेका सम्बन्धित प्रारम्भिक संस्थाका अध्यक्षलाई संस्थागत क्षमता अभिवृद्धि, सकारात्मक समूह निर्माण, प्रभावकारी सञ्चारसीप र नेतृत्वसीप विकाससम्बन्धी प्रशिक्षण दिई संस्थाको दीर्घकालीन विकासमा जोड दिइएको छ । गोष्ठीले ११ बुँदे साझा प्रतिबद्धतासहित सहकारी अभियान निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।

Advertisement

संस्थाको सदस्यता विस्तार गरी संगठनलाई र यसका गतिविधिलाई थप क्रियाशील बनाउने, आर्थिक समृद्धि, आत्मनिर्भरता र सहकारीको पुँजीलाई औद्योगिक पुँजीमा रूपान्तरण गर्न सबैसँग समन्वय गर्ने, सहकारीको नेतृत्वमा सहकारी निजी र साझेदारी र सहकार्यमा उत्पादनमूलक कार्यमा जोड दिने गरी प्रतिवद्धता व्यक्त गरिएको छ । यस्तै, सहकारीमा कोप्स मोडललाई स्थापित गर्ने, सहकारी र तिनका सञ्चालकको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अघि बढाउने, नयाँ सहकारी गठन र दर्ता सम्बन्धमा अन्य उस्तै प्रकृति सहकारी संस्था दर्ता प्रकिया अगाडि बढाउँदै स्वघोषणा गरी अन्य सहकारीको सहकारी सदस्यता नभएको प्रतिबद्धता लिएपछि दर्ता गराउन पालिकालाई ध्यानाकर्षण गराउने लगायत छन् ।

सहकारीमार्फत पर्यटन वर्ष २०२० सफल बनाउन पूर्वाधार विकासमा जोड दिने, १ व्यक्ति १ सहकारी सेयर सदस्य कार्यान्वयनका लागि सबै सहकारीले आफूखुसी नभई सेयर सदस्यको अन्तिम रोजाई आधारमा छनोट गर्न पाउनुपर्ने विषय स्थापित गर्ने, पारिवारिक लाभका लागि सञ्चालन हुने सहकारीको अन्त्य गरिनुपर्ने, सहकारी विशिष्टकृत संघ खोली सामूहिक लगानीबाट सहकारी व्यवसाय सञ्चालन गर्ने, सहकारी एकीकरण प्रक्रियालाई मूर्तिरुप दिने, सहकारी चेक क्लिरेन्स, साख सूचना केन्द्र र प्रदेश स्तरीय सहकारी बैंक स्थापनाका लागि सम्बन्धित निकायमा ध्यानार्कषण गराउने निर्णय भएको कोप्सका संस्थापक अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

Advertisement

कार्यक्रममा संस्थाका महासचिव रामचन्द्र शर्माले संस्थाको सांगठनिक प्रतिवदेन, भावी योजना पेश गरे । संगठन विस्तारका लागि ३३ वटै वडामा वडा समन्वयकर्ता तोकिएको छ भने आगामी असोजमा प्रथम अधिवेशन गर्ने निर्णय भएको छ । कार्यक्रममा कोप्स सदस्य दुर्गाकुमारी आचार्य, सल्लाहकार विष्णुप्रसाद बराल, आजीवन सदस्य सविन जिसी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया