मेलोडी अफर– ९९ रुपैयाँमा खाजा सेट

समाधान संवाददाता २०७६ साउन १९ गते १७:२५

समाधान संवाददाता

मेलोडी क्याफे एन्ड लाउञ्ज बार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भदौ १ देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

क्याफेका अध्यक्ष सुरेश पहारीले बदलिँदो समय, ग्राहकको रोजाइमा देखिएको परिवर्तनलाई ख्याल गर्दै मेलोडी क्याफे एन्ड लाउन्ज बारलाई परिमार्जन गरी सञ्चालनमा ल्याउन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

Advertisement

क्याफेले कार्यालय र काममा व्यस्त रहने ग्राहकलाई लक्ष्य गरी मेलोडी नाइन्टीनाइन स्किम ल्याएको छ । खाजाको प्याकेज जम्मा ९९ रुपैयाँमा उपलब्ध हुने क्याफेका सञ्चालक एकराज गिरीले जानकारी दिए । भदौ १ देखि ७ गते सम्म शुभारम्भको मिति तोकेको क्याफेले यस अवधिमा ग्राहकलाई मेनुमा विशेष छुट तथा सांगीतिक कार्यक्रममा ग्राहकका रोजाइका कलाकारलाई निम्त्याउने जनाएको छ ।

क्याफेको शुभारम्भको अवसरमा हरेक साँझ ख्यातिप्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक रहनेछ । दैनिक सांगितिक कार्यक्रमका लागि संगीतमार्फत पोखरालाई चिनाउन सफल गायक विनोद बानिया, इतु जोजिजु लगायत कलाकारको प्रस्तुति रहने छ ।

Advertisement

१ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीको लगानी छ । यसअघि मेलोडी क्याफेकै संस्थापक सदस्य रहेका गायक विनोद बानिया, होटल व्यवसायी तथा चलचित्र निर्माता सुरेश पहारी र फ्रेन्चाइजी रेस्टुरेन्ट बाजेको सेकुवा पोखराका सञ्चालक एकराज गिरीको क्याफेमा लगानी छ ।

‘विशेष गरी पोखराको केन्द्र मानिने चिप्लेढुंगा महेन्द्रपुल क्षेत्रमा यस व्यवसायमा देखिएको सुस्ततालाई जगाउने गरी क्याफे सञ्चालन गरेका छांै,’ क्याफेका सञ्चालक एकराज गिरीले भने, ‘हामीलाई विश्वास छ हामी ग्राहकको मन जित्न सक्षम हुनेछौं ।’ विगतमा साँझमात्रै गजल रेस्टुरेन्टका रुपमा सञ्चालित क्याफे अब बिहान बे्रकफास्टको समयबाटै खुला रहने छ । नयाँ व्यवस्थापन आएपछि क्याफे बिहानको ब्रेकफास्ट तथा दिँउसोको खाजाका लागि पनि खुला रहने क्याफे सञ्चालक गायक विनोद बानियाले जानकारी दिए । ‘परिकारमा मिठासको मेलोडी, जमघटमा अविस्मरणीय मेलोडी, संगीतमा पुनःतार्जगीको मेलोडी हाम्रो प्रयास रहने छ,’ गायक बानियाले भने ।

गायक बानियाले व्यवसायसँगै सामाजिक उत्तरदायित्वको कामलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए । उनले क्याफेले प्रदान गर्दै आएको मेलोडी अवार्ड भदौ महिनामा प्रदान गर्ने गरी तयारी थालिएको पनि सुनाए । संगीतमा साधनारत स्रष्टाको सम्मानका लागि स्थापित मेलोडी अवार्डबाट यसअघि गीतकार तीर्थ तामाङ, संगीतकार सुनील थापा सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया