सडकमै ट्राभल्स एजेन्सीको अवैध काउन्टर !

समाधान संवाददाता २०७६ साउन २० गते ११:३०

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई भेट्न शुक्रबार पोखराकै पर्यटन यातायात व्यवसायीको एक टोली पुग्यो । मेयर समक्ष उक्त टोलीले राष्ट्रबैंकचोकस्थित निर्माणाधीन पर्यटन बसपार्कबारे चासो राखिदिन मात्रै अनुरोध गरेन कि त्यहीँ अगाडि १ ट्राभल एजेन्सीले अवैध रुपमा राखेको काउन्टर हटाइदिन आग्रह गर्‍यो ।

३ महिनायता पर्यटन बसपार्कको काम चलिरहेको छ । बसपार्क यताउता भएका काउन्टर र खाजा घर हटाइएका छन् । तर, त्यहीँ न्यु पानोरमा टुर्स एन्ड ट्राभल्स प्रालिले काउन्टर राखेर धमाधम व्यापार चलाएपछि यातायात व्यवसायीसहित महानगरको समेत टाउको दुखाइ बनेको छ ।

Advertisement

शुक्रबार सूचना पाएका मेयर जिसी तत्कालै बसपार्क निर्माणाधीन क्षेत्रमा पुगे । काउन्टर हटाउन निर्देशन दिए । पर्यटन विभागबाट टेन्डर भई ७ करोड ५० लाख रुपैयाँ लगानीमा आशिष÷सिएम÷मिसन जेभीले बसपार्क निर्माण गरिरहेको छ । तर त्यहाँ बसपार्क कस्तो बन्ने हो त्यसको डिजाइन र विवरण भने टाँस गरेको छैन । आयोजना पक्षलाई विवरण टाँस गर्नसमेत मेयरले निर्देशन दिए । महानगरका तर्फबाट १ इन्जिनियर गुणस्तरीय जाँच र प्रभावकारी कामको अनुगमनका लागि खटाइने मेयरले सुनाए ।

ट्राभल्स एजेन्सी बसपार्क निर्माण क्षेत्रबाट काउन्टर हटाउन राजी भयो । तर, उक्त काउन्टर अहिले राष्ट्रबैंकको क्वार्टरनजिकै भित्तामा टाँसेर सडकबाट व्यवसाय सञ्चालन गरेपछि पुनः व्यवसायीले गुनासो पोखेका छन् ।

Advertisement

‘बसपार्क निर्माण नहुन्जेल सबै ट्राभल्स एजेन्सीले कार्यालयबाट नै सेवा सञ्चालन गरेका छन्,’ मेयरलाई गुनासो पोख्न महानगर पुगेका एक व्यवसायीले भने, ‘कुनै एक कम्पनीले आफूखुसी सडकमा काउन्टर राखेर व्यवसाय गर्नु आपत्तिजनक छ ।’

राष्ट्रबैंकको क्वार्टर पछाडिपट्टि महानगरको जग्गामा ड्यामसाइड युवा क्लबले फुटबल मैदान बनाउने भनिएको क्षेत्रमा अहिले अस्थायी बसपार्क सञ्चालन गरिँदै आएको छ । अस्थायी बसपार्कमा समेत अनुमति बेगर नै क्लबले मासिक १० हजारसम्म लिने गरी खाजा घर र काउन्टर सञ्चालन भएका छन् ।

‘बसपार्क फोहोरग्रस्त छ । जताततै हिलोहिलो । एउटा शौचालयसम्म व्यवस्थापन गर्न सकेको छैन । तर पसल र काउन्टरका लागि भने क्लबबाट अनुमति दिएर सञ्चालन गर्न मिल्छ ?’ अर्को एक व्यवसायीले भने ।

महानगरबाट मेयरसहित गएको टोलीले दिएको निर्देशन पालना नगरेपछि काउन्टर कसरी हटाउनेबारे महानगर आफैं अलमलमा छ । बसपार्कबाट हटाउन निर्देशन दिएको भएपनि फेरि सडकमा लगेर राखेकोबारे आफू जानकार रहेको मेयर जिसीले बताए । उनले भने, ‘एक ठाउँबाट हटाएको हो । फेरि त्यहाँबाट पनि कहाँ राखेको छ भन्ने कुरा आको छ । आज जान भ्याइन । भोलि एकपल्ट हेर्नुपर्ला ।’

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)पोखराका महासचिव हरिराम अधिकारीले उक्त कम्पनीले काउन्टर राखेकोबारे सम्बन्धित निकायहरुमा जानकारी गराएको बताए । उक्त काउन्टरकै कारण अन्य व्यवसायीले हटाइदिन भन्दै गुनासो गरेको समेत उनले सुनाए । ‘सडकमा डोको बोकेर व्यापार गर्नेलाई महानगरले कारबाही गर्छ । त्यसरी काउन्टर नै राखेकालाई हेर्नुपर्ने हो ।’

तपाईको प्रतिक्रिया