लेकसाइडको बहस

समाधान संवाददाता २०७६ साउन २० गते १३:४३

पोखराको पर्यटकीय केन्द्र लेकसाइड बहसको केन्द्रमा छ । २४ सै घन्टा खुला गर्ने कि नियन्त्रण ? प्रश्न अहम् छ । स्थानीय बासिन्दा रातभर लेकसाइड खुला हुँदा होहल्ला भएर निद्रामा बाधा पुगेका बताइरहेका छन् । दिनरातकै गतिविधिले स्थानीय बासिन्दाको दैनिकीलाई असर गरेको तर्क एकातिर छ भने व्यवसाय गर्न पाउने हक प्रत्याभूत हुनुपर्ने तर्क अर्कातिर छ । समाधानचाहिँ यिनै २ तर्कका बीचबाट खोजिनुपर्छ । कसैले अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुनु हुँदैन । व्यवसाय गर्ने हक सबैलाई छ । स्थानीय बासिन्दालाई पनि अमनचयनपूर्वक बाँच्न पाउने हक छ ।

खासगरी राति अबेरसम्म खुल्ने डिस्को र बारबाट निस्कने युवा जमातले बाटोबाटोमा हल्ला मच्चाउने, मदिराको सुरमा झैझगडा गर्ने र बेतोडसँग मोटरसाइकल हाँकेर स्थानीय बासिन्दाको निद्रा कच्पच्याउने गर्छन् भन्ने स्थानीयको गुनासो छ । त्यसो त होटल व्यवसायी पनि आफ्ना पाहुना राम्ररी निदाउन नपाएको गुनासो गर्छन् ।

कतिपय व्यवसायीले रातभर व्यवसाय गर्न पाऊँ भनी उच्च अदालतबाट आदेश मागेर व्यवसाय गरिरहेका छन् । मदिरा राति १ बजेपछि बेच्न नपाइने मदिरा नियन्त्रण सम्बन्धी ऐनले व्यवस्था गरेको छ । तर कुनै पनि उद्योग धन्दा र व्यवसाय रातभर चलाउन नपाइने भन्ने कानुन छैन । रातभर उद्योग व्यवसाय चलाउन पाइन्छ । तर स्थानीय बासिन्दा र केही होटल व्यवसायीले यसबीचमा डिस्को, बार, स्पा लगायत व्यवसाय बेलुका ९ बजे नै बन्द गर्नुपर्ने मागसहित उच्च अदालत पोखरामा हालै रिट दायर गरेका छन् । यसपछि नै लेकसाइड २४ घन्टा भर्सेस ९ बजेको बहसमा गर्माएको छ ।

Advertisement

कुनै व्यवसाय गर्दा अर्कालाई डिस्टर्ब हुनु हुँदैन । रात होस् या दिन डिस्को वा बार र रेस्टुरेन्ट खुले पनि छिमेकीलाई ध्वनि प्रदूषण पुग्नु हुँदैन । अचेल खुलेका केही डिस्को र बारले ध्वनि नियन्त्रणमा ख्याल पुर्‍याउन खोजेको देखिन्छ । सांगीतिक ब्यान्डसहितका सबै रेन्स्टुरेन्टले ध्वनि प्रदूषण नियन्त्रण गरेका छैनन् । एउटा रेस्टुरेन्टमा बजेको गीतसंगीतले छिमेकीकहाँ डिस्टर्ब गरिरहेको प्रशस्त उदाहरण लेकसाइडमा छ । सधिँयारा व्यवसायी वा बासिन्दाकहाँ आफ्नो ध्वनि जान नदिने गरी व्यवस्थापन गर्नु त्यस्ता रेस्टुरेन्टको दायित्व हो । यस्तै समस्याकै कारण स्थानीयले लेकसाइडको व्यवसायबारे आचारसंहिता वा निर्देशिका चाहिने बताएका हुन् ।

अहिलेको उच्च अदालत पोखरा अर्थात तत्कालीन पुनरावेदन अदालतले आचार संहिता वा निर्देशिका बनाउनू भनेको थियो । २०७१ को उक्त आदेशअनुसार अहिलेसम्म कुनै निर्देशिका नबन्नु र कार्यान्वयनमा नआउनु बिडम्बना हो । गृह मन्त्रालयले पनि त्यस्तो निर्देशिकाको ड्राफ्ट तयार पारिसकेको छ । त्यस विषयमा लेकसाइडका स्थानीय र व्यवसायीबीच गहन छलफल गरी टुंगोमा पुग्नु उपयुक्त हुन्छ । व्यवसाय नभएसम्म देशको अर्थतन्त्र उकालो लाग्दैन, उत्पादनले बजार पाउँदैन र रोजगारी सिर्जना हुँदैन ।

Advertisement

राति अबेरसम्म लेकसाइड नखुल्दाका दुख पनि छन् । अबेर आएका पाहुना भोकै हुने अवस्था छ । पानी खाने पसल पनि नहुँदा कतिपय पाहुनाको बिचल्ली हुने गरेको छ । पोखरा आउने पाहुनाको त्यस्तो हालत दुर्भाग्यपूर्ण हो । सन् २०२१ जुलाईपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनेछ । त्यसपछि रात्रिकालीन उडानबाट आउने पाहुनालाई पनि ध्यान दिन जरुरी हुन्छ । तसर्थ आचारसंहिता र निर्देशिका छिटो बनाई त्यस अनुसार एउटा दायराभित्र लेकसाइडलाई रातभर खुलाउनु आवश्यक छ । शान्ति र सुरक्षाको प्रत्याभूति दिन राज्य तयार हुनुपर्छ ।

तपाईको प्रतिक्रिया