रेल ल्याउँदैमा समाजवाद आउँदैनः भुसाल

समाधान संवाददाता २०७६ साउन २० गते १६:०३

मोहसिन अली मियाँ
गोरखा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले चुच्चे रेल ल्याएर भोट माग्छाैं भन्नु गलत भएको बताएका छन् । प्रगतिशील लेखक सघं गोरखाले आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ पुस्तकको परिचर्चामा उनले नेकपाले अब स्पष्ट भिजन दिन सक्नुपर्ने बताए ।

‘०७६ सालभित्र पार्टीको एजेन्डामा, मुद्दामा केन्द्रित गरेर एकै ठाउँमा ल्याउन सक्नु पर्छ’, उनले भने, ‘०७७÷०७८ मा जनताले पाउने सेवा, सुविधा र नेकपाले लिने नीतिलाई व्यवस्थित गरेर आउने चुनावभन्दा अगाडि नै हामीले देखाउनु पर्छ ।’ यो वर्षभित्र पार्टी एकताका सबै कुरा टुंगाएर स्पष्ट वैचारिक धार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

भविष्यमा चुच्चे रेल ल्याउने हो भने जनताले विश्वास गर्ने खालको बाटो अहिले देखाउन सक्नुपर्ने नेता भुसालले बताए । ‘अब पार्टीले ट्रयाक लियो है भन्ने बनाएर अघि बढ्नुको विकल्प छैन’, उनले भने, ‘अहिले जस्तो खुट्टा तानातान, बैठक सारेको सा¥यै छ । एकता प्रक्रिया सुरु हुनै १५ महिना लाग्या छ । १ महिनाभित्र सकिने काम १५ दिन लगाएर गरेका छौं । यो हामीले राम्रो काम गरेनौं ।’

नेतृत्वले राम्रो काम नगरेको भन्दै उनले त्यसको जिम्मा पार्टीको उपल्लो पंक्ति सबैले लिनुपर्ने विचार राखे । राज्यमा अहिले देखिएका सबै समस्याको समाधान गरेर आउँदो चुनावअघि नै पार्टी र सरकार दुबैलाई व्यवस्थित गर्न नसक्ने हो समाजबादको यात्रा तय हुन नसक्ने उनको दाबी छ । ‘चुच्चे रेल देखाएर हामी फेरि सत्तामा त पुगौंला’, नेता भुसालले भने, ‘तर यो कार्यशैलीले समाजवाद आउँदैन, हामी सुध्रिनै पर्छ ।’

Advertisement

नेता भुसालले ‘सर्घषको इतिहास’ ले नेपाली वामपन्थी आन्दोलनलाई झकझक्याउन सफल भएको प्रतिक्रिया दिए । माक्र्सवादी आन्दोलन र विद्यार्थी राजनीतिमा लामो समय बिताएका नेता न्यौपानेले इतिहासलाई लिपिवद्ध गरेर वैचारिक आन्दोलन फेरि सक्रिय बनाएको उनको भनाइ छ ।

प्रगतिशील लेखक सघं गोरखा अध्यक्ष विश्वेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखक न्यौपानले यो पुस्तक नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण दस्तावेज बन्ने बताए । ‘नेपाली समाजमा, नेपाली राजनीतिमा पठन संस्कृति पूरै हराएर गयो’, उनले भने, ‘यो पुस्तकमार्फत मैले माक्र्सवादी आन्दोलन लागेकाहरुलाई धेरैभन्दा धेरै सूचना दिने प्रयास गरेको छु । यसले पठन संस्कृतिको विकास गर्छ भन्ने मेरो विश्वास छ ।’

तपाईको प्रतिक्रिया