यातायात व्यवस्थापन योजना बनाउँदैंछौंः मेयर जिसी

समाधान संवाददाता २०७६ साउन २१ गते ११:४५

जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ट्राफिक कोण हस्तान्तरण गर्दै पोखराका मेयर मानबहादुर जिसी र डिआइजी विनोद शर्मा घिमिरे ।

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ ।

Advertisement

महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मेयर जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापनसम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने, ‘अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापनसम्बन्धी काम गरिनेछ ।’ प्रमुख जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरी पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएकोे जानकारी दिए ।

Advertisement

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागि परेको उनको भनाइ छ । पोखराका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उनले औल्याए । भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक यातायात बसमा इ—टिकटिङ लागु गरिने र त्यसलाई क्रमश कार्ड सिस्टमा लैजाने तयारीसहित काम भइरहेको जिसीले जानकारी दिए । जनताले तिरेका करबाट नै ट्राफिक कोण खरीद गरिएकाले जनताकै सम्पत्ति भएको बताउँदै जतन गर्न मेयर जिसीले आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । पोखराको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन प्रयास गरिरहेको बताउँदै डिआइजी घिमिरेले जनशक्ति व्यवस्थापनमा पनि प्रदेश प्रहरी कार्यालयले ध्यान दिइरहेको बताए ।

कार्यक्रममा एसपी वीरेन्द्रकुमार बस्याल, पोखरा महानगरपालिका इन्जिनियर सुरेन्द्र पौडेलले पोखराको ट्राफिक व्यवस्थापनबारे बोलेका थिए । जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यरत भएको भन्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० प्रहरी आवश्यक भएको बताए ।

तपाईको प्रतिक्रिया