गाडी भाडामा मनोमानी किन ?

समाधान संवाददाता २०७६ साउन २१ गते १२:०३

समाधान संवाददाता
पोखरा

पोखरामा गुड्ने यात्रुवाहक सवारी साधनमा मनलाग्दी ढंगले भाडा असुल गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न विद्यार्थीले माग गरेका छन् । नेकपा निकट अनेरास्ववियु कास्की नेता शेखर गौतमको नेतृत्वमा गएको विद्यार्थी टोलीले सोमबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई यस्तो माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लामो तथा छोटो दुरीका सवारी साधनमा यसअघि प्रदान गर्दै आएको ज्येष्ट नागरिक, अपांगता भएका, विद्यार्थी र जनआन्दोलनका घाइते लगायतलाई दिइएको छुट कायम राख्न माग गरिएको छ । पोखरामा चल्ने माइक्रो र ट्याक्सीले यात्रु ठग्ने गरेको तथ्यसहित उपस्थित विद्याथीले लामो समयसम्म यातायात क्षेत्रमा अनुगमन नगरिएकोमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

यात्रुसँग १० किलोमिटरको दुरीमा ४० रुपैयाँसम्म भाडा असुल गरिएको, पोखरादेखि काठमाडौंसम्मको भाडा दर ४ सय २८ रुपैयाँ रहेकोमा २ हजार २ सयसम्म यात्रुले तिर्नुपर्छ । डिलक्स र सुपर डिलक्स बसले त्यसको २० प्रतिशतसम्म थप लिन पाउनेमा व्यवस्था छ । ट्याक्सीले मिटरमा उठेको पैसा नभई बार्गेनिङका आधारमा पैसा असुल्ने गरेको हुँदा यसो गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।

नेता गौतमले लामो दुरीको यातायातका साधनमा अनिवार्य २ जना चालक राख्नुपर्नेमा नराखेको पाइएकाले यस्ता सवारी साधनको रुट परमिट खारेज गर्न माग गरे । उनले अनुगमन गर्ने निकाय चूप बस्दा व्यवसायीले मनोमानी ढंगले भाडा उठाइरहेको दाबी गरे । गौतमले भने, ‘यसलाई सम्बन्धित निकायले अनुगमन गरोस् नत्र विद्यार्थी चूप बस्दैनन् ।’

Advertisement

ज्ञापन पत्र बुझ्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले यातायात क्षेत्रमा धेरै नै समस्या रहेको स्वीकारे । ट्याक्सीमा मिटर चलाउनेदेखि धेरै समस्याका बारेमा व्यवसायीसँग छलफल गर्दा पनि निकास ननिस्केकाले नयाँ ढंगले समाधानको उपाय खोजिने उनको भनाइ छ । अबको एक हप्ता भित्रमा समस्या हल गर्न ठोस कदम चालिसक्ने उनले प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया