ग्याल्जेनको याक !

समाधान संवाददाता २०७६ साउन २१ गते १४:०५

खाद्यान्न लिन याकचौंरीसहित मुस्ताङको शान्ता गाउँमा आएका छार्काबासी । तस्बिरः समाधान

एसके थकाली
मुस्ताङ

मुस्ताङको पश्चिमी सीमावर्ती छिमेकी गाउँ डोल्पाको छार्का । छार्कामा करिब ७०÷८० को संख्यामा घरधुरी छन् । ती परिवारको आम्दानीको मुख्य स्रोत नै पशुपालन हो । त्यसैले त याकचौंरी र भेडाच्याङग्रा नपालेको घरै हुँदैन । खेती किसानीले मुस्किलले ४ महिनापनि नटिक्ने भएपछि उनीहरुको बाँच्ने आधार नै पशुपालन भएको छ ।

भौगोलिक रुपमा विकट भएकाले पनि छार्कामा शिक्षाको राम्रो पहूँच छैन । बाध्यताले पनि पढाइ छोेडेर सानै उमेरमा सीप सिक्ने र परम्पराग व्यवसायमै अग्रसर हुनु परेको त्यहाँका जनताको गुनासो छ । यार्सा खोज्नु उनीहरुको परम्पराजस्तै भइसकेको छ ।

छार्काका ग्याल्जेन गुरुङ छिमेकीसहित ‘रासन’ किन्न मुस्ताङ शान्ता गाउँमा आएका थिए । उनीसहित करिब ६÷७ परिवारले ७० वटा याकचौंरीको बथान लिएर खाद्यान्न लिएर शान्ता आइपुगेका हुन् । शान्ता गाउँ मुस्ताङको जोमसोमदेखि डोल्पा र मुस्ताङको सीमानामा पर्छ ।

‘जोमसोम देखि शान्ता कच्ची सडक छ । त्यहाँसम्म ट्याक्टरमा खाद्यान्न लैजान्छौं । त्यसपछि याकचौंरीले बोकेर जान्छन्,’ गुरुङ भन्छन्, ‘शान्तासम्म सडक नहुँदा जोमसोमबाटै याकमा रासन लैजान्थ्यौं । अहिले सडक भएर सजिलो भएको छ ।’ उनले डोल्पाको दुनै आउजाउ गर्न २ दिन लाग्ने भएकाले पनि चाहिने सामान मुस्ताङबाटै लैजाने गरेको सुनाए ।

ग्याल्जेनको आधा बैंश तिनै याकचौंरीको वरिपरि घुमेको छ । पढेका छैनन्, तर पढ्नु त पर्ने रहेछ भन्ने ज्ञान भने उनमा छ । लामो कपाल, कालो ज्याकेट र घाँटीमा बाँधेको मुवाको माला मिलाउँदै भन्छन्, ‘बालबच्चालाई पढाउने रहर छ । तर घरको माहोेल मिलिरहेको छैन ।’

ग्लाल्जेनको भन्दा फरक छैन अरु छिमेकीको कथा पनि । परम्परागत व्यवसायको बिंडो धान्नु उनीहरुको पेशा नै भइसकेको छ । तर, छार्काली यसैमा सन्तुष्ट छन् । ‘हिउँदमा रासन जोहो गर्न २ पटकसम्म मुस्ताङ आउँछौं,’ ग्याल्जेनसँगै रहेका अर्का छिमेकी भन्छन्, ‘बर्खायाममा २ पटक तिब्बती मेलामा पुग्छौं ।’ छार्कालीका बालबच्चासमेत पढ्न छोडेर यार्सा खोजमा लाग्ने उनीहरु सहजै बताउँछन् ।

छार्कामा उवा र फापरमात्र खेती हुन्छ । प्राय महिला खेती किसानीमा संलग्न हुने ग्याल्जेन सुनाउँछन् । छार्कासहित त्यस आसपासका डाँडागाउँ, साल्ताङ, तिउन्चे र विजय लगायतका गाउँलले यौकचौंरी पाल्छन् । एउटा चाैंरी हुर्काउन कम्तिमा १५ वर्ष लाग्ने ग्याल्जेन बताउँछन् । ‘डोल्पामा पालिएको चौंरीको मासु स्वादिष्ट हुन्छ । वनका जडबुटी खाने भएकाले यसको रगत औषधी हुन्छ,’ उनी सुनाउँछन् ।

मुस्ताङमा छार्काली याकचौंरीको ठूलो माग रहेको ग्याल्जेनको भनाइ छ । ‘जोमसोम ल्याएको याकचौंरी १ लाख रुपैयाँसम्म बिक्री हुन्छ,’ उनी भन्छन्, ‘यसबाट हामीले वर्षमा ५÷६ लाख रुपैयाँ कमाउँछौं ।’ जोमसोममा याक काट्ने र सुकुटी बनाउने मौसम सुरु हुदैछ । त्यसैका लागि डोल्पाबाट ल्याएका याक जोमसोम प्रसस्तै देख्न पाइन्छ ।

तपाईको प्रतिक्रिया