अहा याङ्जाकोट ! कुँदियो अक्षरमा

समाधान संवाददाता २०७६ साउन २१ गते १४:२१

समाधान संवाददाता
पोखरा

वरिपरि साउने झरीले रुझाएका हरिया डाँडा । हरियै छ, खेतबारी र वन । वनको बीचमा पुराना शैलीका घर । ढुंगाले छाएको घर र ढुंगै बिछ्याइएका आकर्षक सिँढी र बाटो । होमस्टे चलाएर गाउँ पुग्ने पाहुनालाई गाउँलेको न्यानो स्वागत । गाउँमै फलेको काक्रो । खानेलाई गाउँकै लोकल भाले । नखानेलाई गाउँकै उब्जिएको साग र तरकारी ।

कुहिरो छल्दै झुल्किएको बिहानी घाम । त्यसैमा टिलिक्क टल्किएको हिमाल । गर्मी मौसममा शितल छर्दै बहेको हावा र अक्षरमा जीवन र जगतको यथार्थ उतार्न पुगेका यात्री । अनि त अक्षरयात्री अम्बिकाप्रसाद भट्टराईले आफ्नो अनुभूतिलाई शब्दमा यसरी उतारिहालेः
याङ्जाकोटको सम्झना मलाई
मेटिँदैन आगोले नजलाई

Advertisement

पोखरादेखि अक्षरसँग यात्रा गर्न याङ्जा पुगेका अक्षरयात्रीले याङ्जाकोटलाई शब्दमा उतारे । याङ्जाकोटको इतिहास खोतले । याङ्जाकोट जस्ता ऐतिहासिक गाउँ रित्तिँदै जाँदाका दुखहरु शब्दमा लिपिवद्ध गरे । याङजाकोटको डाँडाबाट देशको राजनीतिक अवस्था नियाले । राज्यसत्ता र त्यसको बागडोर सम्हालेकाहरुमा आएको विचलनप्रति व्यंग्य गरे । अक्षरयात्रीले विभिन्न क्षेत्र र आयामलाई शब्दमा खिपे ।

ट्वाइलेटमा कमोड राखेर
कान्लामा बसिरहेछन् साइला दाइ
पसलमा बिस्कुट चाउचाउ राखेर
कोदोको रोटी चबाउँदैछिन् साहिली भाउजू
ट्युबलाइटको उज्यालो देख्न नसकेर
पानसमा सलाई जोड्छिन् माझघरे फूपू
गाउँमा सहर, गाउँलेहरुका लागि पसेको छैन

कवि सुदर्शन पौडेलले कवितामार्फत गाउँ पसेको सहर संस्कृतिलाई कवितामार्फत सुनाए । एकाबिहानै याङ्जाकोट गाउँभरि शब्द खोज्न छरिएका अक्षरयात्रीसँग फर्कंदा आआफ्नो विचार, चिन्तन र दृष्टिकोण अनुसारको आर्गानिक सिर्जना थिए । अनि सुनाएँ, याङ्जाकोटलाई साक्षी राखेर याङ्जाकोटमै उनिएका शब्दः
विश्वास गर
मान्छेसँग मान्छेको विश्वास मूल फुट्नेछ
एक दिन यस्तो आउनेछ
मान्छे प्रलयको होइन
लयको गीत आउनेछ

Advertisement

मान्छेहरु निराशावादी हुँदै गएको कवि तीर्थ श्रेष्ठले कवितामार्फत इंगित गरे । उनले देशमा व्यस्त नैराश्यता छाएप्रति चिन्ता व्यक्त गरेनन्, आशा राख्न आग्रह गरे । अर्का कवि किरण थापाले सुविधाभोगी जनप्रतिलाई कवितामार्फत व्यंग्य गरे । कवि धनप्रसाद तामाङले ऐतिहासिक याङ्जाकोट गाउँको इतिहास खोतले ।
जो आगोले पोल्दैन
जो पानीले गल्दैन
जो कालले मर्दैन
उसैको याङ्जाकोटमा
किन बल्झिरहन्छ घाँटू

तामाङले याङ्जाकोटको घाँटु, सोरठी, दरबारको संरक्षण र संस्कृति तथा पहिचानको खोजी गर्न कवितामार्फत आह्वान गरे । कलाकार प्रकाश घिमिरे याङ्जाकोट पुगेर ठट्यौली पारामा गम्भीर विषयमा घोत्लिए । कवि चैतन्य अधिकारी र गीता तिवारीले प्रकृति र गाउँको कथा कवितामा उतारे ।

कवि प्रकाश ज्ञवालीले कवितामार्फत च्यूत हुँदै गएको राज्यसत्ताको विवेकप्रति प्रश्न गरे । कपिल शर्माले गजलमार्फत खिचातानी र स्वार्थी प्रवृतिप्रति तारो लगाए ।

कवि दीपक सिञ्जालीले गाउँ पसिरहेको डोजर र गाउँको चित्रण कवितामार्फत बोले । कवि सौगात पोखरेल, भीम रानाभाट र उदीपराज ढुंगानाले गाउँबाट हराउँदै गउको गाउँ र समसामयिक विषयमाथि सिजर्नामार्फत चिन्ता व्यक्त गरे । कवि बालिका अभिलासीले गाउँले जीवन, अर्गानिक स्वाद र स्वागतलाई कवितामा उतारिन् । आनन्द भट्टराईले सामाजिक विषयवस्तुलाई गजलका शेरमा उतारे ।

केहीले याङ्जाकोट पुगेर शब्दमा प्रणय र पे्रमको स्वाद मिसाए । याङ्जाकोट पुगेपछि अनिता दाहालले कुनै प्रेमीसँग भएको कल्पना गरिन् । मुक्तकमार्फत यसरी मायाप्रेम लगाउने रहर देखाइन् ।
छोडेर अनेक काम याङ्जाकोटैमा
लाग्यो मनमा जामजाम याङ्जाकोटैमा
बस्ती बाटो मान्छे सबै कति अहा
भयो यतै माया लाम याङ्जाकोटैमा

प्रत्येक महिनाको तेस्रो शनिबार पोखरामै यस्तै एउटा यात्रा हुन्छ, अक्षरयात्रा । गजल सन्ध्या पोखरा र नवनीति साहित्य सागरले यो अक्षरयात्रा अभियान चलाउँदै आएका छन् । ‘कम्तीमा महिलाको १ दिन पोखराको एउटा साहित्यिक अभियान कुनै गाउँसम्म पुग्छ । ऐतिहासिक र सम्भावना बोकेका विभिन्न ठाउँमा पुग्छ । जीवन र जगतलाई शब्दहरुमा उतार्छ,’ सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘अक्षरयात्रीले कुनै ठाउँमा उजागरमात्रै गरेका छैनन् । शब्दमार्फत दस्तावेजीकरण र साहित्यिक पर्यटनमा पनि ठूलो सहयोग पुर्‍याएको छ ।’

‘जीवन र जगतको यथार्थ वोधका लागि अक्षरयात्रा’ नाम दिएर गजल सन्ध्या र नवनीत सागरले चलाउँदै आएको अभियानको १ सय ६८ औं शृंखला याङ्जाकोट होमस्टे पुगेको सचिव वसन्त विनोद बताउँछन् । अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति अध्यक्ष नारायण गुरुङले कविका अक्षरमा याङ्जाकोट अझ जीवन्त बन्ने विश्वास व्यक्त गरे ।

अक्षरयात्रामा ३० जना साहित्यकार सहभागी भए । यस पटकको अक्षरयात्राको व्यवस्थापन मादी गाउँपालिका र प्रवद्र्धन पर्यटन बोर्ड पोखराले गरेका हुन् ।

तपाईको प्रतिक्रिया