गुठीको जग्गा हत्याउन चलखेल

समाधान संवाददाता २०७६ साउन २२ गते १२:०७
dav

ईश्वर देवकोटा
पोखरा

तालवाराही समिधा गुठीको नाममा रहेको ५५ रोपनी जग्गा ३९ वर्षसम्म भोगचलन गर्न पाउनेगरी भाडा (लिज)मा दिन चलखेल सुरु भएको छ । पोखरा १८, खहरेमाथि डाँडास्थित कित्ता नम्बर ४१९ को ७१ रोपनीमध्ये ५५ रोपनी जग्गा पूर्वाधार विकास संरचना निर्माणका लागि भन्दै एउटा कम्पनीको स्वार्थमा प्रयोग आउने गरी सुम्पन लागिएको हो ।

उक्त जग्गा तालवाराही गुठी व्यवस्थापन समितिमार्फत संरक्षण हुँदै आएको छ । स्वामित्व भने गुठी संस्थानमा छ । ‘गुठी तैनाथी जग्गामा पूर्वाधार विकास गरी व्यावसायिक उपयोग गर्ने सम्बन्धमा’ भन्दै गुठी संस्थानले असार १० गतेको मिति राखेर प्रस्ताव आह्वान गरेको छ । उक्त जग्गा हत्याएर होटल वा रिसोर्ट निर्माणका लागि कुनै १ समूह आन्तरिक रुपमा लागी परेको र संस्थानले समेत त्यही आसयमा प्रस्ताव आह्वान गरेको स्रोतको दाबी छ ।

Advertisement

प्रस्तावनामा ‘५५ रोपनीसम्मको जग्गामा पूर्वाधार विकास लगायत संरचना निर्माण विकास गरी आयमूलक कार्य सञ्चालन गर्न उपयुक्त हुने भन्ने सम्बन्धित सरोकारवालाहरुसँगको परामर्श सहित स्थलगत निरीक्षण प्रतिवेदन पेस हुन आएको आधारमा’ भनिएको छ । सरोकारवालाको परामर्श भनिए पनि कुन निकाय हो उल्लेख नै नगरी एकलौटी रुपमा जग्गा लिन चाहेको कम्पनीलाई शिरोपर गरेर जग्गा हत्याउन खोजेको स्रोत बताउँछन् ।

‘प्रस्ताव यस्तो तरिकाले ल्याइएको छ । सामान्य कम्पनीको सवालमा यो हुँदै होइन,’ स्रोत भन्छ, ‘कुनै निश्चित कम्पनीलाई नै लक्ष्य गरेर आशय पत्र आह्वान गरिएको छ ।’ आशय पेस गर्ने कम्पनी वा व्यक्तिले प्रस्ताव पेस गर्दै ३ वर्ष भित्रको २ करोड ५० लाख रुपैयाँको कारोबार गरेको र क्रेडिट लाइन कम्तीमा २० करोड रुपैयाँ भएको हुनुपर्ने सर्त राखिएको छ । यो सर्त निश्चित कम्पनी लक्षित भएको श्रोतको दाबी छ ।

Advertisement

जग्गा चाहने समूहको नितान्त फाइदा हेरेर प्रस्ताव आह्वान गरिएको र त्यहाँ भएको ७१ रोपनी जग्गा सबै प्रयोग गर्न सकिने गरी सेटिङ भइरहेको स्रोत बताउँछ । प्रस्तावको २१ नम्बर बुँदामा भनिएको छ, ‘करार अवधिभर उक्त घरजग्गाको पूर्णरुपले स्वामित्व गुठी संस्थानमा सुरक्षित रहनेछ तर यो व्यवस्थाले अन्य व्यक्ति वा फर्मलाई भाडामा दिनका लागि वाधा पुर्‍याउने छैन ।’ जसअनुसार गुठीको जग्गामा विचौलिया प्रवेश हुन कुनै वाधा नपुग्ने देखिन्छ । सस्तोमा भाडामा लिएर लाखौं रुपैयाँ कमिसन खानेगरी उक्त जग्गा लिने कम्पनीले अन्यलाई भोगचलनका लागि दिन सक्ने प्रस्तावले अन्तत जग्गाको स्वामित्व नै संकटमा पर्ने स्थानीय सरोकारवाला बताउँछन् ।

७१ मध्ये १६ रोपनीमा भने वृद्धाश्रम बनाउनका लागि तालबाराही गुठी समितिले तयारी समेत थालेको छ । गुठीका १ सस्दयले ५५ रोपनी जग्गा भाडामा दिने विषयमा सबैको विरोध हुने बताए । ‘वृद्धाश्रम निर्माणका लागि छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अरु जग्गा भाडामा दिने कुरो एकीन छैन । यदि भाडामा दिन लागिएको हो भने विरोध गर्छौ ।’ सहमति बेगर संस्थानले प्रस्ताव आह्वान गर्दैमा गुठीको जग्गा लिजमा दिन नपाइने उनको भनाइ छ ।

जग्गामा गुठी संस्थानकै हात
सदियौंदेखि तालबाराही मन्दिर व्यवस्थापन समिति मातहत संरक्षणमा रहँदै आएको उक्त जग्गाको संरक्षण स्वामित्व मन्दिरमै हुनुपर्छ भन्ने गुठीयाराहरुको माग थियो । स्वामित्वकै बारेमा गुठीयारा र संस्थानबीचको विवाद ७ महिना अघि सर्वोच्चबाट टुंगिएको छ । गुठी संस्थानकै पक्षमा फैसला भएपछि जग्गा संस्थानको स्वामित्वमा छ ।

संस्थानले जग्गा संरक्षणका लागि तालबाराही मन्दिर व्यवस्थापन समिति अध्यक्ष हिक्मत कुँवरलाई केही समयअघि गुठी समिति बनाई जिम्मेवारी दिएको छ । समितिले १६ रोपनी क्षेत्रफलमा वृद्धाश्रम निर्माणका लागि पहल समेत गरिरहेको छ । समिति अध्यक्ष हिक्मत कुँवरले जग्गाको विषयमा आफ्नो धारणा अहिल्यै सार्वजनिक नगर्ने बताए ।

तालवाराही मन्दिर व्यवस्थापन समिति सचिव शिव कुँवरले तालवाराही मन्दिरको स्वामित्वमा जग्गा नरहेपछि भाडामा दिने नदिने भन्ने कुरा संस्थानलाई नै हुने सुनाए । ‘गुठी संस्थानमा जग्गा गइसकेपछि हामीले केही गर्न मिल्दैन,’ उनले भने, ‘केही चाहिए हामीले पनि संस्थानलाई आग्रह गर्ने हो । स्वामित्व जसको छ उसैले जान्ने कुरा हो ।’

केही समय अगाडि गुठी संस्थानका अधिकारीहरु पोखरा आएर उक्त जग्गा निरीक्षण गरेर फर्किएको उनले बताए । ‘संरक्षण तपाईहरुले गर्दिनुस् । कुनै पनि काम गर्दा संस्थानसँग समन्वय गरेर गर्नुहोला भनेर फर्किए ।’ संस्थानले जग्गा भाडामा लगाउनेबारे गरेको प्रस्तावमा भने विरोधको स्थिति निम्तन सक्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया