निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमः प्रत्यक्षलाई नेतृत्व, खुद्रे योजनामा बजेट
अमृत सुवेदी
पोखरा
गण्डकी प्रदेश सरकारले यसै आर्थिक वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट छुट्याएपछि समानुपातिक सांसदले आवाज उठाए, ‘हामीलाई अन्याय नहोस् ।’ प्रत्येक निर्वाचन क्षेत्रमा २ करोडका दरले बजेट सरकारले बिनियोजन गरेको छ । ३६ निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँ पूर्वाधार विकास कार्यक्रममा खर्च हुने छ ।
यस्तै कार्यक्रम संघीय सरकारले लागु गर्दा धेरै ठाउँमा दुरुपयोग भएको गुनासो आयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट कसरी खर्च गर्ने त ? प्रदेश सरकारले यसको कार्यविधि बनाउँदै छ । प्रत्यक्ष र समानुपातिक सांसदको सहभागिता कसरी गराउने र बजेट खर्चलाई कसरी प्रभावकारी बनाउने भनेर प्रदेशले २ चरणमा छलफल गरेको छ ।
पूर्वाधार विकास कार्यक्रमको बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत नै खर्च हुने छ । निर्वाचन क्षेत्रका लागि छुट्टिएको रकम खर्च गर्ने सन्दर्भमा कार्यविधि बनाउन मुख्य ७ वटा बुँदामा केन्द्रित रहेर समानुपातिक र प्रत्यक्ष सांसदसँग मन्त्रिपरिषदको कार्यालयले सुझाव लिन छलफल चलाएको हो ।
निर्वाचन क्षेत्र कार्यक्रम खर्च गर्दा प्रत्यक्ष र समानुपातिक सांसदको भूमिका के हुने भन्ने प्रमुख विषय बन्यो । यसमा प्रत्यक्ष र समानुपातिकको फरक फरक आवाज छ । समानुपातिक सांसदले आफ्नो भूमिकालाई कमजोर नठान्न आग्रह गरेका छन् भने प्रत्यक्षले योजना छनोटको मुख्य नेतृत्व आफूहरुले पाउनुपर्ने बताएका छन् ।
योजना छनोट गर्ने एउटा समिति बन्छ । त्यो समितिको नेतृत्व प्रत्यक्ष सांसदलाई दिने र सदस्यमा समानुपातिक सांसदलाई पनि सहभागी गराउने विषयमा मुख्यमन्त्री, मन्त्री र अधिकांश सांसद सहमत छन् । योजना छनोट र कार्यान्वयनमा विभेद नगरी समान गर्न सांसद मायानाथ अधिकारीले आग्रह गरे । कांग्रेस सांसद डोबाटे विकले भने फरक मत राखे । उनले निर्वाचन क्षेत्रमामात्रै बजेट विनियोजन गरिएकोमा असन्तुष्टि पोखे । सबै सांसदलाई १÷१ करोड रुपैयाँका दरले पूर्वाधार कार्यक्रम गर्न बजेट छुट्याउनुपर्नेमा विभेद गरिएको बताए ।
सांसद मधुमाया अधिकारीको भनाइ पनि समान हैसियतको व्यवहार र भूमिका हुनुपर्नेमा छ । प्रत्यक्ष सांसदहरुले समानुपातिक सांसदको सहभागितामा मापदण्ड निर्माण गरेर कार्यान्वयन, अनुगमन र निरीक्षण गर्ने नै पक्षमा छ । एकै ठाउँमा राखेर छलफल गर्दा समानुपातिक र प्रत्यक्षको स्वार्थ बाझिन सक्ने भएकाले छुट्टाछुट्टै छलफल गरी मध्यमार्गी बाटो खोजिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ ।
फरक फरक छलफलका क्रममा योजना छनोट गर्ने समितिको संयोजक प्रत्यक्षलाई दिने र समानुपातिकलाई सदस्य राख्ने कुरामा सबैको मत मिलेको बताए ।
आयोजनाको बजेट सीमा
सानाभन्दा सानो योजनामा पनि यो बजेट खर्च गर्ने कि ठूला योजनामा ? यस विषयमा सांसदहरु फरकफरक मत आए । कसैले थोरै योजनामा धेरै बजेट छुट्याएर परिणाममुखी बनाउनुपर्ने बताए । यो पंक्तिमा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, सांसद महेन्द्र गौचन लगायत देखिए । सांसद राजीव पहारी, दीपक कोइराला, लगायतको फरक मत रह्यो । उनीहरु प्रस्ताव छ, ‘प्रदेश, केन्द्र र स्थानीय तहले पनि बजेट नपारेका तर निर्वाचन क्षेत्रमा महत्वपूर्ण सानो ठूलो जेसुकै भए पनि आवश्यकताका आधारमा योजना छनोट गरौं । न्यूनतम कतिसम्मको बजेटको सीमा तोकेर आयोजना छनोट गर्ने भन्ने विषयमा ५ देखि २५ लाख सम्मको सिलिङ दिइएको थियो । यसमा अधिकांश सांसदको मत न्यूनतम ५ लाखसम्मको सीमा तोक्नुपर्ने भनाइ छ । भने केही १ लाख, २ लाख रुपैयाँसम्म भए पनि छुटेका त्यस्ता साना आयोजना तर धेरै आवश्यकता छ भने त्यहाँ खर्च सकिने मापदण्ड बनाउन आग्रह गरे ।
मुख्यमन्त्री पृथ्वीसुब्बाले संघ, प्रदेशले छुन नसकेका त्यस्तो आयोजनामा कतिसम्ममा खर्च गर्ने भन्ने खालको मापदण्ड बनाइने बताए ।
‘२ करोड रुपैयाँमा १ करोड रुपैयाँ साना आयोजनामा खर्च गर्ने, त्यो १ लाख, २लाख पनि हुन सक्छ तर एक करोड रुपैयाँ चाहिँ कम्तीमा ५÷१० करोडभन्दा तल नगर्ने खालको मापदण्ड बनाउँदा ठिकै होला भन्ने मलाई पनि लागेको हो,’ मुख्यमन्त्री गुरुङले भने । प्रमुख रुपमा १० देखि २० वटा आयोजना छनोट गर्नुपर्ने अधिकांशको धारणा थियो ।
खुद्रे वा कनिका छरेजस्तै नै किन नहोस् तर निर्वाचन क्षेत्रका नभइनहुने क्षेत्रमा यस्तो रकम खर्च गर्नुपर्ने मत पनि छ । १ वडामा कम्तीमा एउटा योजना पर्ने गरी कार्यक्रमको छनोट गर्नुपर्ने सांसद विष्णु लामिछानेको धारणा छ । पूर्वाधारवाहेक अन्य क्षेत्रमा खर्च नगर्ने तर आमा समूह, युवा क्लब, कृषि, स्वाथ्य, शिक्षा लगायतका विभिन्न क्षेत्रमा यो रकम खर्च गर्ने मुख्यमन्त्रीको भनाइ छ । मापदण्डमै यो कार्यक्रममार्फत लगानीको क्षेत्र निर्धारण गरिने मुख्यमन्त्री गुरुङले बताए ।
प्रदेश आफैंले कार्यान्वयन गर्ने
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यान्वयन कसले गर्ने ? यो विषयमा केही सांसदहरुले फरक मत राखे पनि अधिकांशले प्रदेश आफैंले कार्यान्वयन गर्नेमा जोड दिएका छन् ।
स्थानीय तहमार्फत काम गर्दा अघिल्लो आर्थिक वर्षमा धोका खाएको बताउँदै प्रदेश आफैंले बजेट कार्यान्वयन, निरक्षिण र अनुगमन गर्ने कुरामा धेरै सांसदले मत राखे । केही सांसदले स्थानीय तहलाई पनि सहभागी गराएर कार्यान्वयन गराउँदा प्राविधि सहयोग पनि लिन सकिने र समन्वय पनि हुने धारणा राखे ।
दुर्गम क्षेत्रमा स्थानीय तह, जिल्ला समन्वय इकाईमार्फत समन्वय नगरी कार्यक्रम कार्यान्वयन गर्दा अनुगमन र कार्यान्वयनमा चुनौति हुने सांसद ईन्द्रधारा विष्टको भनाइ थियो । तर, धेरैजसो सांसदले भने प्रदेशमार्फत नै कार्यक्रम हुनुपर्ने सुझाव दिएका छन् । त्यसका लागि भौतिक पूर्वाधार मन्त्री बस्नेत र कानुनमन्त्री चुमानको उपाय छ, ‘बरु स्थानीय तह र समन्वय इकाइलाई पनि समेटेर एउटा परामर्श समिति बनाउने र उनीहरुलाई पनि सहभागी गराउने ।’
मुख्यमन्त्री पृथ्वीसुब्बा पनि कार्यक्रम स्थानीय तह वा अरु कुनै इकाईमार्फत कार्यान्वयन गर्ने पक्षमा छैनन् । उनले अघिल्लो आर्थिक वर्षमा मिलेर काम गरौंभन्दा स्थानीय तहबाट धोका खाएको बताए । ‘गएको वर्षको अनुभवमा स्थानीय तहले मिलेर काम गर्नै चाहेनन् । २० प्रतिशतले मात्रै काम गरे होलान्,’ मुख्यमन्त्री गुरुङले भने, ‘नत्र १ करोडको ठाउँमा ७० करोड दिए पनि हामी छुट्टै सरकार हौं भनेर काम गरेनन् । पोखरा महानगरले नै ६ वटा योजना कार्यान्वयन नै गरिदिएन ।’
मुख्यमन्त्री गुरुङले प्रदेशमार्फत नै गर्ने र ११ वटै जिल्लामा रहेको प्रदेशको कार्यालयमार्फत कार्यान्वयन र निगरानी गर्ने बताए । प्रदेश सरकारले योजना छनोट, कार्यान्वयन र प्रभावकारी कार्यान्वयन गर्न नियमित बैठक बस्ने र त्यो छनोट समिति संयोजकले डोकेअनुसार बस्ने अधिकांशको मत छ । यसै वर्षदेखि लागु भएको यो कार्यक्रमको बजेट खर्च गर्न साउनभित्र मापदण्ड बनाइसक्ने, भदौभित्र योजना छनोट गरेर कार्यान्वयनमा जाने सरकारको योजना छ ।
तपाईको प्रतिक्रिया