गौ संरक्षण केन्द्रमा सोलार

कृष्ण न्यौपाने
दमौली
शुक्लागण्डकी ९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ । केन्द्रमा राति गाईलाई चितुवाले आक्रमण गर्न थालेपछि शुक्लागण्डकी नगरपालिका र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको साझेदारीमा सोलार बत्ती जडान गरिएको हो ।
शुक्लागण्डकी ९ का अध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार केन्द्रमा करिब ४ लाख बराबरको ४ वटा सोलार जडान गरिएको छ । ‘केन्द्रमा बत्तीको व्यवस्था नहुँदा चितुवाले गाईलाई आक्रमण गर्ने क्रम बढेपछि सोलार जडान गरेका हौं,’ श्रेष्ठले भने, ‘अब चितुवाको आक्रमण घट्ने अपेक्षा गरेका छौं ।’
चितुवाले केन्द्रका २२ वटा गाई मारिसकेको छ । चितुवाको आक्रमणबाट गाईलाई बचाउन केन्द्र वरपरको झाडी सरसफाई गरिएको छ । ‘झाडी सरसफाइ गरेको बेला चितुवा आएन तर फेरि झाडी बिस्तारै बाक्लिदै जान थालेपछि चितुवा आउन सुरु गरेको रहेछ, बाक्लिएको झाडीलाई फेरि सरसफाइ गर्छौं,’ उनले भने ।
केन्द्रमा गाई थपिने क्रम बढिरहेको छ । सडक छेउछाउ छाडिएका गाई संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको केन्द्रमा हाल २ सय ७५ भन्दा बढी गाई छन् । त्यसमध्ये २० वटा गाई ब्याउने छन् । ‘केन्द्रमा दिनदिनै गाई थपिएकाले व्यवस्थापनमा केही असहज भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने । उनका अनुसार केन्द्रमा खानेकुरा अभाव र चितुवाको आक्रमणबाट ४६ गाई मरिसकेका छन् ।
नगरपालिकाको १७ लाख र स्थानीयवासीको ३ लाख गरी २० लाख लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । गाई खरिदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ । ‘गाई किन्न मान्छेहरु आइरहेका छन्, नगरपालिकाले यसका लागि कार्यविधि बनाउँदैछ । कार्यविधि बनेपछि बिक्रीको व्यवस्था गर्ने सोचेका छाैं,’ उनले भने ।
छाडा छोडिएका चौपायाका कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । दूध दिन छाडेपछि किसानले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखराबाट समेत गाईवस्तु शुक्लागण्डकी भित्रिएका थिए ।
यसैबीच नगरपालिका र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको साझेदारीमा शुक्लागण्डकीका १२ वटै वडा कार्यालयमा सोलार जडानको तयारी थालिएको छ । प्रत्येक वडा कार्यालयमा १÷१ वटा सोलार जडान गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया