भ्रष्टाचार शून्यमा झार्न सरकार सक्रिय

समाधान संवाददाता २०७६ साउन २२ गते १४:००

राकेश शर्मा
म्याग्दी

देशमा मौलाएकोे भ्रष्टाचारको जरो उखेल्न सरकार लागि परेको महिला, बालबाललिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बताएकी छन् । आइतबार जिल्ला समन्वय समितिले आयोजना गरेको चाैंथो जिल्ला सभालाई सम्बोधन गर्दै सरकारले देशमा भइरहेको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सरकार लागि परेको बताएकी हुन् । उनले सरकारले भ्रष्टाचारमा संलग्न कर्मचारी तथा जनप्रतिधिलाई पक्राउ गर्न थालेपछि भ्रष्टाचारीहरु आत्तिएर उकुस–मुकुस भएको दाबी गरिन् ।

अबको २ वर्षमा देशलाई भ्रष्टाचारमुक्त बनाई देशमा शान्ति कायम गर्ने गरी सरकारले योजना बनाएर काम गरिरहेकाले अन्य क्षेत्रमा भनेजस्तो सफलता हासिल गर्न नसकेको बताइन् । संघीय सरकारले कानुन नबनाएसम्म प्रदेश सरकार र स्थानीय सरकारले कानुन बनाउने भएकाले बढी समय कानुन निर्माणमा लागेको पुनको भनाइ थियो । जनप्रतिनिधि र कर्मचारीबीच मनमुनाटाब भएर देशमा भ्रष्टाचार बढी भएको भन्दै त्यसबीचमा हुने असहमति हटाउनुपर्ने उनको भनाइ थियो ।

Advertisement

म्याग्दीमात्र नभएर देशकै गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजनाको कामले सही गति नलिएकोमा सरकारको ध्यान गएको उनले बताइन् ।

गण्डकी प्रदेश समाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकार र स्थानीय सरकारको समन्यवले विकास निर्माणमा सहज भएको बताइन् । उनले केही समय अलमल भए पनि अहिले भने स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा नै विकास सम्भव भएकाले ३ वटै सरकार मिलेर जानुपर्ने बताइन् । उनले गण्डकी प्रदेश सरकारले अपांगमैत्री गाउँपालिका, वडा कार्यालय निर्माण, १ निर्वाचन क्षेत्र १ विशेष विद्यालय, १ प्राविधिक विद्यालय र १ नमुना बालविकास निर्माण गर्ने नीति लिएकाले त्यसमा गाउँपालिकाले समेत सहयोग गर्नुपर्ने बताइन् । विनियोजित बजेटको ६० प्रतिशतसम्म पनि खर्च गर्न नसक्ने गाउँपालिकाले नै बजेट कम भयो भनेर दोष लगाउने गरेको उनले आरोप लगाइन् ।

Advertisement

प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले ठूलो प्रयासपछि म्याग्दी जिल्ला हिमाली जिल्लामा सूचीकृत भए पनि हिमाली जिल्लाले पाउने सेवा सुविधाबाट बन्चित भएको बताए । उनले दर्जनौं हिमाल भएको जिल्लामा प्राकृतिक अस्पतालको रुपमा परिचित तातोपनी कुण्ड, धार्मिक पर्यटकको केन्द्र गलेश्वरधाम जस्ता स्थलको प्रचासप्रसार गर्न सकेमा पर्यटकलाई जिल्लामा भित्र्याउन सकिने धारणा राखे । करिब ८ सय मेघावाट विद्युत उत्पादनको अनुमति पाएको म्याग्दी जिल्लामा सबै जलविद्युत आयोजना निर्माण हुने जिल्लाको मुहार फेरिने उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद विनोद केसी, पूर्व सांसद्वय रेशम बानियाँ, गोविन्द पौडेल र नवराज शर्मा राजनीतिक पार्टीको तर्फबाट नेपाली कांग्रेसका उपसभापति माधव रेग्मी, नेकपा प्रतिनिधि बालकृष्ण सुवेदी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विक, म्याग्दी अस्पतालका अध्यक्ष तथा म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष बेलबहादुर कटुवाल, गाउँपालिकाको तर्फबाट धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले बोलेका थिए । कार्यक्रम जिसस प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शेरबहादुर केसीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया