रोजगारीका लागि उत्पादनमा बढाऔंः पौडेल

समाधान संवाददाता
दमौली
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीय स्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । तनहँुको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६÷७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले स्थानीय स्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।
गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिए आम्दानी हुने र युवाहरु विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने पौडेलले तर्क गरे । उनले भने, ‘युवालाई गाउँमा नै रोजगारी सिर्जना गर्न सके काम खोज्दै विदेश जानुपर्दैन, त्यसका लागि उत्पादन वृद्धिमा जोड दिनु अहिलेको प्रमुख आवश्यकता हो ।’
नेता पौडेलले कृषि, जलस्रोत र पर्यटनमार्फत् देशलाई समृद्ध बनाउन सकिने भएकोले ३ तहको सरकारले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले कृषि क्रान्तिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले म्याग्दे गाउँपालिकालाई प्रकृतिले नै वरदान दिएको चर्चा गर्दै उक्त अवसरलाई सदुपयोग गर्दै गाउँपालिकाको विकासमा जनप्रतिनिधिको भूमिका रहनुपर्ने जिकिर गरे । ‘प्रकृतिले दिएको सुन्दरतामा आयाम थप्ने काममा यहाँका जनप्रतिनिधिको भूमिका रहनुपर्छ,’ उनले भने, ‘त्यसका लागि कार्ययोजनासहित अघि बढ्नु अपरिहार्य छ ।’
फरक प्रसंगमा नेता पौडेलले पार्टीलाई सुधार्ने जिम्मेवारी जनताको पनि रहेको उल्लेख गरे । पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्ने भन्दै नेता पौडेलले लोकतन्त्रमा व्यक्ति नभई जनता बलियो हुनुपर्ने धारणा व्यक्त गरे । २ तिहाइ जनमत प्राप्त सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौैडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने बताए । भ्रष्टाचारले राजनीतिलाई दूषित बनाएकाले भ्रष्टाचार रोकथामका लागि सबै गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा संघीय सांसद केदार सिग्देल, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले समृद्ध गाउँपालिका बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
गाउँपालिका अध्यक्ष माया रानाले आर्थिक वर्ष ०७६÷७७ का लागि पारित बजेट सार्वजनिक गरेकी थिइन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४८ करोड १३ लाख ७७ हजारको बजेट पारित गरेको छ । कूल बजेटमध्ये चालुतर्फ २५ करोड ९४ लाख ३४ हजार र पुँजीगततर्फ २२ करोड १९ लाख ४३ हजार विनियोजन गरिएको छ ।
गाउँपालिकाको आन्तरिक आय २ करोड १५ लाख हुने अनुमान गरिएको छ । बाह्य स्रोत अन्तर्गत नेपाल सरकारबाट वित्तीय समानीकरणतर्फ ९ करोड ४४ र प्रदेश सरकारबाट १ करोड २१ लाख ३७ हजार गरी जम्मा १० करोड ६५ लाख ३७ हजार हुने उल्लेख छ । राजस्व बाँडफाँडतर्फ नेपाल सरकारबाट ७ करोड ६ लाख, प्रदेश सरकारबाट २७ लाख ४० हजार, सशर्त अनुदान ११ करोड ९६ हजार हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले पूर्वाधार विकास अन्तर्गत ७ वटै महत्वपूर्ण सडकहरुको सञ्जाल बनाई कालोपत्रे सुरुआत गर्ने, कृषिमा आत्मनिर्भर बनाउन आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने, एकीकृत पर्यटन विकास कार्यक्रम तय गरी पर्यटनका पूर्वाधार निर्माण गर्ने, स्वच्छ खानेपानीको अभाव न्यूनीकरण गर्ने लगायत योजना प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया