ऋण लिएर गाउँलेले खने मोटर बाटो

समाधान संवाददाता २०७६ साउन २३ गते १४:१६

राकेश शर्मा
म्याग्दी

२०७२÷०७३ सालतिर बाबियाचौर सल्यान भरजुला हुँदै हिदी पुग्ने कृषि सडक खोल्ने योजना बन्यो, जिल्ला विकास समितिमा । गाउँलाई सडकले नछुने भएपछि हिदी बासीले जिविस र साविक गाविसमा निरन्तर दबाब दिए । तर, माग सुनुवाइ भएन । तैपनि उनीहरुले हिम्मत हारेनन् ।

मंगला गाउँपालिका २ का हिदीबासीको निरन्तर दबाबपछि हिदीसम्म जान सडक खन्ने योजना बन्यो । तर योजना भरजुला र थाइबाङबासीको विरोधले अधुरै भयो ।सल्यानको सिसान र भरजुलाको स्कुलसम्म सडक आयो । त्यसपछि हिदी जाने सडक वा कुहुँ जाने सडक कुन पहिले खन्ने भन्ने बिषयमा सल्यान र भरजुलाबासीको विवाद भयो । २०७०÷७१ मा जिविसले सडकका लागि छुट्टाएको करिब २२ लाख फ्रिज भयो ।

Advertisement

अहिले गाउँसम्मै सर्रर गाडी पुग्छ । हिदीका अगुवा कुलप्रसाद पुन भन्छन्, ‘हामीलाई जसरी पनि गाउँसम्म बाटो चाहिएको थियो । कतैबाट सहयोग नपाउने भएपछि हामीले प्रतिघर चन्दा उठाउने र श्रमदान गर्ने निर्णय गर्‍यौं । सोही अनुसार बाटो खन्यौं ।’ अहिले गाउँका प्रत्येक टोलमा सडक पुगेको छ । ७२ सालमा सहमति जुटाएर २०७२ सालको ३ लाख ५० हजार बजेटले भरजुलाको डाँडाको स्कुलसम्म सडक आयो । त्यही साल हिदीबासीलेसामूहिक लगानीमा ९ किलोमिटर सडक खनेर गाउँसम्म सडक पुर्‍याए ।

बाटो खन्न गाउँका युवा राति २ बजेसम्म खटिएको र महिलाले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरेको अगुवा पुन सम्झन्छन् । ‘यो सडकमा सरकारी पैसा भने छँदै छैन । बाटो बनेपछि गाउँसम्मै गाडी आईपुग्छ । हामीलाई धेरै सहज भएको छ’, उनले भने । गाउँका १ सय ३० घरधुरीलाई ४ भागमा विभाजन गरी रकम उठाइएको थियो । क वर्गमा पर्ने घरधुरीलाई १० हजार, खमा पर्नेलाई ८ हजार गमा पर्नेलाई ६ हजार र घमा पर्नेबाट ४ हजारका दरले रकम जम्मा गरिएको थियो ।

Advertisement

‘वैदेशिक रोजगारीमा गएका घरले प्रति घर १० हजारको दरले उठाएका छन् । सडक खन्दा लागेको ऋणले कसैले भैंसी भेच्नु पर्‍यो, कसैले बाख्रा । कतिको अझै ऋण बाँकी छ,’ सडक उपभाक्ता समिति अध्यक्षसमेत रहेको पुनले भने ।

हिदीसम्म सडक ल्याउनका लागि थाइबाङबासी पनि करिब २ लाख ऋणमा परेका छन् । ‘हामीले रकम संकलन गरेर ४७ लाख बनाएका थियौं । अहिले त्यसको ब्याजसहित ५० लाख पुगेको छ,’ उपभोक्ता समिति सचिव तकप्रसाद पौडेलले बताए ।

मगर समुदायको बाहुल्य रहेको गाउँसम्म सडक ल्याउन प्रवासमा रहेका युवाको योगदान पनि उल्लेखनीय छ । ‘गाउँसम्म सडक ल्याउन सरकारले सहयोग नगरेपछि प्रवासमा रहेका दाजुभाई पनि भन्यौँ । कतार, साउदी अरब, मलेसिया लगायतका देशबाटसहयोग प्राप्त भएको छ’, वडा सदस्य चन्द्रमान शेरपुञ्जाले भने, ‘गाउँको एकताले नै यो सम्भव भएको हो ।’

हिदी भौगोलिक हिसाबले दुर्गम छ । तर यो तरकारी र आलु उत्पादनको पकेट क्षेत्र हो । गाउँसम्म सडक पुगेपछि सबैभन्दा सहज यहाँका गृहिणी र व्यावसायिक किसानलाई भएको छ । हिदीका लागि भनेर बेनीबाट दैनिक रुपमा जीप, माइक्रो बस चल्छन् । गाउँमा उत्पादित सुन्तला, सिमी, आलु र तरकारी नियमित रुपमा बजार निर्यात हुन्छ ।

‘बजारबाट समान र यहाँको तरकारी बजार पठाउन समस्या छैन,‘ शेरपुञ्जाले भने । अब मालिका गाउँपालिका ७ मा पर्ने पर्यटकीय स्थल मालिकासम्म सडक जोड्नु र खनेका सडकलाई फराकिलो बनाउनु पर्नेमा उनले जोड दिए । ‘त्यसका लागि योजना पनि बनाएका छौँ तर, अब सरकारले पनि हेरिदिनुप¥यो’, वडा सदस्य शेरपुञ्जाले थपे । गाउँलेको ऋण तिरिदिने कुनै आधार नभएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया