दमाैलीमा ३९ हजार करदाता करको दायरामा

समाधान संवाददाता २०७६ साउन २३ गते १४:१७

कृष्ण न्यौपाने
दमौली

आन्तरिक राजश्व कार्यालय दमौलीमा ३९ हजार करदाता करको दायरामा आएका छन् । कार्यालयले करदाता शिक्षा सञ्चालन गरेपछि ४ जिल्लाका ३९ हजार २ सय १५ करदाता करको दायरामा आएको कार्यालयले जनाएको छ । तनहुँसहित लमजुङ, गोरखा र मनाङ कार्यालयको कार्यक्षेत्र हो ।

आयतर्फ २६ हजार २ सय ६७, मूल्य अभिवृद्धितर्फ २ हजार ७ सय ७३, अन्तशुल्कतर्फ २ हजार १ सय ४६ र व्यक्तिगततर्फ ८ हजार २९ जना करको दायरामा आएको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाइँले जानकारी दिए । सेढाईँका अनुसार करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करशिक्षा, कर जागरण लगायतका कार्यक्रम सञ्चालन गरिएको छ । ‘करको दायरामा नआएकालाई पनि ल्याउँछौं,’ उनले भने ।

Advertisement

२०६९ साल वैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयका रुपमा स्तरोन्नति भएको थियो । कार्यालय साविक डिभिजन सहकारी कार्यालयको भवनमा सञ्चालन हुँदै आएको छ । विसं २०७५ असोज ४ गते कार्यालय उद्घाटन भएको थियो भने २०७५ मंसिर १ गतेदेखि कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएको सेढाइँले बताए ।

दमौलीमा आन्तरिक राजश्व कार्यालय स्तरोन्नति भएपछि सेवाग्राहीलाई सहज भएको छ । यस अगाडि करसम्बन्धी सेवा लिन पोखरा जानुपर्ने अवस्था रहे पनि गत वर्षदेखि भने दमौलीमा नै सेवा पाउँदा सहज भएको गोरखाका करदाता दीपक विकले बताए । कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा ५ अर्ब ३० करोड ३० लाख ६ हजार कर संकलन गरेको छ । सो अवधिमा ५ अर्ब १९ करोड ५२ लाख ४० हजार कर संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा १० करोड ७७ लाख ६६ हजार बढि कर सङ्कलन भएको कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालय प्रमुख सेढाइँका अनुसार लक्ष्यभन्दा १ सय २ प्रतिशत बढी कर संकलन भएको छ । करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय गत वर्षमात्रै आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नति भएपछि उल्लेख्य मात्रामा कर संकलन भएको हो । सबैभन्दा बढी अन्तशुल्कतर्फ राजश्व संकलन भएको छ भने सबैभन्दा कम शिक्षा सेवा शुल्कतर्फ छ । यद्यपि अन्तशुल्क र मूल्य अभिवृद्धितर्फ भने लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

आयकरतर्फ ४३ करोड ५१ लाख ८९ हजार लक्ष्य रहेकोमा १ अर्ब ४ करोड ८४ लाख ५३ हजार संकलन भएको छ । यो लक्ष्यको २ सय ४ प्रतिशत बढी हो । अन्तशुल्कतर्फ ४ अर्ब २७ करोड ७३ लाख २ हजार संकलन लक्ष्य रहेकोमा ३ अर्ब २५ करोड ९७ लाख ३८ हजार संकलन भएको छ । मूल्यअभिवृद्धितर्फ ४२ करोड १३ हजार लक्ष्य रहेकोमा ३१ करोड १२ लाख ३ हजार संकलन भएको छ । ब्याजतर्फ रु ६ करोड २७ लाख ३६ हजार संकलन लक्ष्य रहेकोमा ६ करोड ६३ लाख १४ हजार संकलन भएको छ । घरबहालतर्फ ५ करोड ४ लाख ८८ हजार, स्वास्थ्यतर्फ ५६ करोड २७ लाख २९ हजार र शिक्षातर्फ ४० लाख ८० हजार संकलन भएको सेढाइँले जानकारी दिए ।

तपाईको प्रतिक्रिया