चौकी बसेको २६ वर्षपछि बन्यो भवन

समाधान संवाददाता २०७६ साउन २३ गते १४:२०

एसके थकाली
जोमसोम

मुस्ताङमा नेपाल प्रहरीका १९ वटा इकाइ छन् । अधिकांश प्रहरी इकाइ भवन भाडामा छन् । प्रहरीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समेत केही असहजता छ ।

मुस्ताङको प्रवेशद्वार थासाङ ४ घाँसामा २०५० सालमा प्रहरी चौकी खडा गरिएको हो । मुस्ताङबाट म्याग्दी हुँदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा अवैध गतिविधि हुने गर्छ । म्याग्दीसँग जोडिएको सीमा क्षेत्रलाई चुस्त दुरुस्त र भरपर्दो राख्न यहाँ प्रहरी इकाइ खडा भएको हो । २०५८ सालदेखि यहाँ नेपाली सेना समेत छ ।

Advertisement

घाँसा प्रहरी चौकी २६ वर्षसम्म व्यक्तिको जीर्ण घरबाट चल्यो । प्रहरीको समुदाय–प्रहरी साझेदारीमा हालै प्रहरी इकाइको भवन बनेको छ । एक्याप, प्रहरी र विभिन्न स्थानीय सरोकारवालाको आर्थिक तथा भौतिक सहयोगमा भवन बनेको चौकी इन्चार्ज निमप्रसाद लामिछानेले जानकारी दिए । भवन करिब ८ लाखमा निर्माण गरिएको हो ।

यसअघि एक्याप पर्यटक चेकपोस्ट र प्रहरी इकाइ १० मिनेटको फेरोमा रहँदा यात्रु तथा सवारी साधनले झन्झट भोग्नु पथ्र्याे । अब प्रहरी र ट्राफिक चेकजाँचको काम एकसाथ गर्न सहज भएको इन्चार्ज लामिछानेले बताए । भवन मंगलवार थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले उद्घाटन गरे ।

Advertisement

अध्यक्ष शेरचनले शान्ति, सुशासनका लागि प्रहरी कार्यसम्पादन महत्वपूर्ण हुने उल्लेख गरे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सीमावर्ती क्षेत्रमा स्थापित प्रहरी चौकीले अवैध गतिविधि निस्तेज गर्न सक्नुपर्ने बताए । मुस्ताङका प्रहरी प्रमुख तुलबहादुर कार्कीले समुदाय प्रहरी साझेदारी अन्तर्गत जनताको उत्साहपूर्ण सहभागी रहेको बताए ।

कार्यक्रममा चौकीलाई जग्गा दान गर्ने विक्रम शेरचन र उनका बुवा भीमप्रसाद गौचनलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया