साझा पार्टीले कास्की र पोखरा संयोजकसँगै उम्मेदवार घोषणा गर्ने

समाधान संवाददाता २०७६ साउन २३ गते १७:३५

पोखरा, २३ साउन
साझा पार्टीले भदौ दोस्रो साता कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गर्ने तयारी गरेको छ । साझा पार्टी गण्डकी प्रदेश समितिका अनुसार कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवारसमेत सोही दिन घोषणा गर्ने कार्यक्रम छ ।


‘यो निकै भव्य कार्यक्रम हुनेछ । एकै दिन पार्टीको कास्की जिल्ला संयोजक, पोखरा महानगर संयोजक र उपनिर्वाचनका लागि उम्मेदवार घोषणा कार्यक्रमले पक्कै एउटा तरंग ल्याउनेछ ।’ साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले भने, ‘पछिल्लो समय संगठन विस्तारलाई पार्टीले बढि जोड दिएको छ । पार्टीमा नयाँ साथीहरुको लहर पनि गज्जबको छ । पार्टीलाई सांगठनिक तरिकाले अगाडि बढाउन पनि आवश्यक छ ।’

Advertisement


भदौको दोस्रो साता हुने कार्यक्रममा साझा पार्टीका केन्द्रीय स्तरका सम्पूर्ण नेताहरुको सहभागिता रहने भण्डारीले बताए । ‘यसभन्दा अगाडि तेस्रो स्थानमा आएको साझा पार्टीले अबको उपनिर्वाचनमा कस्तो उम्मेदवारलाई उठाउँछ भन्ने कुरा सबैको चासोको विषय हो । त्यसैले हामीले उम्मेदवार घोषणालाई विशेष रुपमा लिएका छौं ।’ पार्टीका गण्डकी संयोजक भण्डारीले भने, ‘साझा पार्टीको लागि यो ऐतिहासिक क्षण पनि हो । जिल्ला र महानगर संयोजकसँगै उपनिर्वाचनको उम्मेदवार घोषणाले जनतामाझ धेरै चासो उब्जाएको छ । यी सबै जिज्ञासा कार्यक्रमकै दिन मेटिनेछन् ।’


साझा पार्टी गण्डकीले यो एक वर्षको बीचमा तीन दर्जनभन्दा बढी कार्यक्रमहरुको आयोजना गरिसकेको छ । विभिन्न जिल्लामा संगठन विस्तार केन्द्रित भेला र छलफलसँगै सामाजिक अभियानसँग सम्बन्धित कार्यक्रमहरु यो वर्ष भएको पार्टीले जनाएको छ ।

Advertisement


योबीचमा गण्डकी प्रदेशभित्र पर्ने जिल्लामध्ये नवलपुरमा यसअगाडि नै संयोजक घोषणा कार्यक्रम भइसकेको छ । नवलपुरकै देवचुली नगरपालिकामा पनि संयोजक घोषणा कार्यक्रम भइसकेको पार्टीको गण्डकी प्रदेश शाखाले जनाएको छ ।

भदौको दोस्रो साता कास्की जिल्ला संयोजक घोषणा कार्यक्रममा जुटेको गण्डकी प्रदेश शाखाले लगत्तै अन्य जिल्लाहरुमा पनि संयोजक घोषणा गर्दै जाने जनाएको छ ।

तपाईको प्रतिक्रिया