‘व्यवस्था नयाँ, सोच पुरानै’

समाधान संवाददाता २०७६ साउन २४ गते १२:५४

समाधान संवाददाता
पोखरा

जिल्ला समन्वय समिति कास्कीले बिहीबार कास्कीमा कार्यक्षेत्र बनाई काम गरिरहेका गैरसरकारी संस्थाहरुको आर्थिक वर्ष २०७५÷०७७को वार्षिक प्रगति समीक्षा गरेको छ ।

कार्यक्रममा कास्कीका रहेका ४४ गैससले प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । गैसस महासंघ कास्कीको नेटवर्कमा रहेका ९२ मध्ये शुक्रबार ४७ गैससले प्रगति विवरण पेश गरेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कास्की अध्यक्ष कृष्ण थापाले मुलुक संघीयतामा गएर ३ तहको सरकार बनेता पनि योजना, सोच र धारणा एकात्मक शासनका पुरानै भएको बताए । उनले परम्परागत मान्यतालाई धोई पखाली लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप नयाँ गणतान्त्रिक मोडलमा काम गर्न सामाजिक संघ संस्थालाई अनुरोध गरे । ‘सामाजिक संस्थाका विषयगत विज्ञको योग्यता, व्यावसायिक दक्षता र अनुभव स्थानीय सरकारका जनप्रतिनिधिलाई सहजीकरण गर्नमा खर्च गर्नुस्,’ उनले भने, ‘योजना निर्माण, नीति तथा कार्यक्रम बनाउनका लागि विज्ञहरुको सहयोग आवश्यक पर्छ ।’

कार्यक्रममा दोहोरोपन हुन नदिन र कार्यक्षेत्र निर्धारण गरेर अगाडि बढ्न अनुरोध गर्दै उनले गणतान्त्रिक उपलब्धि अनुसार उच्चतम अभ्यास गरेर विकास, निर्माणको काममा जुट्न आग्रह गरे । उनले खुद्रा, मसिना काममा अल्झन भन्दा मेघा प्रोजेक्टमा ध्यान दिएर सुखी नेपाली र समृद्ध नेपाल निर्माण सहयोग गर्न अनुरोध गरे ।

Advertisement

जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सामाजिक संघ संस्थाको प्रभावकारी अनुगमन गरी प्रदेश र संघीय सरकारलाई प्रतिवेदन बुझाउने बताए । उनले समीक्षा कार्यक्रम स्थानीय सरकारलाई प्रतिवेदन सुनाउनमात्र नभएर सामाजिक संघ, संस्थाबीच अनुभव आदानप्रदान समेत भएको उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सामाजिक संस्थाले धार्मिक उद्देश्य, जातजातिबीच विवाद बढाउने र राष्ट्रिय अखण्डतामाथि आँच आउने काम गर्न नहुने बताए । उनले राष्ट्रिय स्वार्थ प्रतिकूल हुने गरी अनुदान लिन नहुने धारणा राखे । उनले १ करोडभन्दा बढी आर्थिक कारोबार गर्ने संस्थाको आयव्यय जाँच गर्ने जानकारी दिए ।

गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले गुणस्तरीय शिक्षा र स्वास्थ्य र गरिबी निवारणको क्षेत्रमा सामाजिक संघ, संस्थाको योगदान रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति कास्की उपप्रमुख सावित्री भण्डारी, समन्वय समिति सदस्य गुमादेवी अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, गैसस महासंघ कास्की अध्यक्ष पदमराज पहारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया