—सम्पादकीय— प्लेटअनुसारका यात्रु

समाधान संवाददाता २०७६ साउन २४ गते १३:२९

सरकारले प्रष्टै व्यवस्था गरेको छ रातो नम्बर प्लेट भएका गाडी निजी हुन्छन् । कालो नम्बर प्लेट भएका सार्वजनिक । हरियो प्लेट भए पर्यटकीय । पहेंलो भए संस्थान । सेतो भए सरकारी । एकताका कर्मचारी सेतो प्लेटलाई बदलेर रातो बनाउँथे र बिदा र अरु बेला पनि सरकारी गाडी वा मोटरसाइकल चढिरहन्थे ।

द्वन्द्वकालमा माओवादीको डर हुँदा सरकारी नम्बर प्लेट नचिनियोस् भन्ने उद्देश्यबाट सरकारी गाडीका नम्बर प्लेट फेरिएका पनि थिए । तर त्यस्तो प्रवृत्ति हिजोआजसम्मै कायम छ । अहिले त्यस्ता विद्रोहीको खास डर छैन । तर सरकारी गाडी कार्यालयसमयभन्दा बेगर र बिदामा पनि चढ्ने लोभ राख्नेले नम्बर प्लेट बदल्छन् ।

पोखरा महानगरपालिकामा जनप्रतिनिधि आउनुअघि सबैजसो मोटरसाइकलका नम्बर प्लेट रातो पारेर कर्मचारीले मस्ती गरेका थिए । जनप्रतिनिधि आइसकेपछि २ दर्जनभन्दा बढी सवारीको नम्बर प्लेट सरकारी रङमा रङग्याइयो ।

Advertisement

भाडाका सवारी साधनले निजी कम्पनीको गाडीको काम गर्नु हुँदैन । पोखराका स्कुल बसमा कालो नम्बर प्लेट भेटिएको छ । त्यस्तालाई ट्राफिक प्रहरीले जरिवाना पनि गरेको छ । निजी विद्यालयले रातो नम्बर प्लेटको गाडी प्रयोग गर्नुपर्छ । विद्यालय भनेको नैतिकता, चरित्र, इमान्दारी र सत्यपन सिकाउने थलो हो । तर विद्यालय सञ्चालकले नै नियम मिचे भने विद्यार्थीले के सिक्ने ? यसमा विद्यालय सञ्चालक सचेत हुन जरुरी छ ।

अझ आफ्ना विद्यार्थीलाई स्कुल बसका झ्यालबाट प्लास्टिक र फोहोर नफाल्न सचेत गराउनुपर्ने देखिन्छ । बसबाट बाहिर थुक्न र फोहोर फाल्न हुन्न भन्ने चेतना विद्यार्थीलाई दिनु आवश्यक छ भने अर्कोतिर अति नै धुवाँ फाल्ने बस फेर्नचाहिँ सञ्चालक आफैंले तदारुकता देखाउनुपर्छ । पोखरामा सबैभन्दा धेरै धुवाँ पुत्ताउँदै गुड्ने गाडीमध्ये नगर बस सँगसँगै स्कुल बस पनि छन् । सार्वजनिक यातायातका रुपमा प्रयोग भएर नगरबाट विस्थापित गरिनुपर्ने पत्रु बस नै स्कुलले प्रयोग गर्दा यस्तो समस्या आएको हो ।

Advertisement

अर्काेतिर निजी नम्बर प्लेट भएका गाडी भाडामा दिने विकृति पनि देखापरेको छ । पोखरा रामबजारका रमेश नेपालीले श्रीमती लक्ष्मीको हत्यामा डाकेर कन्ट्र्याक्ट किलरले प्रयोग गरेका गाडी रातोप्लेटको गाडी थियो । दुरुपयोग त भाडाकै गाडीको पनि हुन सक्छ । तर भाडामा दिनै नमिल्ने गाडी दिँदा आइपर्न सक्ने आपतको यो एउटा उदाहरण हो ।

अर्काेतिर निजी र सार्वजनिक गाडीको नम्बर प्लेटमात्रै नभई राजस्व पनि फरक हुन्छ । विदेशतिर निजी गाडी पनि भाडाका यात्रु बोक्ने गर्छन् तर त्यसका लागि उनीहरुले अनुमति लिएका हुन्छन् । जे पनि विधिसम्मत हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । नागरिकले विधि मिच्न थाल्ने हो भने नेतालाई देश प्रणालीमा चलाउन सकेनौं भन्ने हक हुँदैन ।

तपाईको प्रतिक्रिया