धौलागिरि पदमार्गमा जोखिमै जोखिम

समाधान संवाददाता २०७६ साउन २४ गते १३:४४

राकेश शर्मा
बेनी

म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदी बगराका हुँदै धौलागिरी आधार शिविरसम्म जाने पदमार्गमाा पूर्वाधारको अभाव छ । राउन्ड धौलागिरी पदमार्ग हुँदै आवाज जावात गर्ने स्वेदशी तथा विदेशी पर्यटक जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । धौलागिरि पदमार्ग अन्तर्गत बगरामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने स्थानीय तथा पर्यटक काठको साँघुको भरमा म्याग्दी खोला तर्ने गरेका छन् ।

हिउँदमा होस् वा बर्खामा पानीको उर्लदो बहाबसँगै जोखिम मोल्दै आवतजावत गर्नुपर्ने बाध्यता रहेको धौलागिरि आधार शिविर अन्तर्गत इटाली बेसक्याम्पका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए । उनका अनुसार राउन्ड धौलागिरि पदयात्रामा पुगेका सयौं पर्यटकहरु तातोपानी कुण्डामा पुगेर थकान मेटाउन चाहन्छन् तर पक्की झोलुंगे पुल नहुँदा जोखिम मोलेर भएपनि खोला वारपार गर्दछन् ।

Advertisement

तातोपानी कुण्डमा पुग्नका लागि मात्र होइन धौलागिरि आधार शिविर पुग्ने सयौं पर्यटकहरु जोखिम मोलेर पदयात्रा गर्दछन् । पदयात्राका दर्जनभन्दा बढी स्थानका खोलामा पुल छैन । ‘हिमालको हिउँ पग्लिएर आउने खोलाहरु भएकाले हिउँदको समयमा पनि खोलामा पानीको बहाव बढ्ने हुँदा खोला वारपार गर्न जोखिम हुन्छ,’ उनले भने कतिपय पर्यटक काठको साँघुु तर्न नसकेर स्थानीय बोकेर तार्ने गरका छन्, यसले यहाँको निकै नराम्रो सन्देश गएको छ ।’ राउन्ड धौलागिरि पदयात्राको १५ ठाउँमा पुलको आवश्यकता रहेको उनले जनाए । ‘तर कहिंकतैबाट हाम्रो मागको सुनुवाइ भएन, वर्षौंदेखि जोखिम मोलेर भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

धौलागिरि हिमालको आरोहणमा पुग्ने पर्यटक पुलको अभावमा ज्यान जोखिममा पारेर वषौंदेखि यात्रा गर्न बाध्य छन् । पुल निर्माण गरी पदयात्रालाई सहज बनाउन सके अहिलेको संख्या भन्दा तेब्बर पर्यटक राउन्ड धौलागिरिको पदयात्रामा आउने स्थानीय कृष्णबहादुर बुढाथोकीले बताए ।

Advertisement

‘सम्बन्धित निकायमा पटकपटक पुल माग गर्दा पनि कहिँकतैबाट सुनुवाई भएको छैन स्थानीय सरकार आएपछि केही भए पनि हाम्रो माग पूरा हुन्छ भनेका थियौँ त्यही पनी भएको छैन,’ उनले भने, ‘यहाँका एउटा रुख ढलेर खोलामा साघु जस्तै भएको छ, त्यहीमा टेकेर हामी वारपार गर्ने गरेका छौं, खुट्टा चिप्लियो भने ज्यानको आश नै मार्नुपर्छ ।’ दुर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भएपनि पुलको योजना परेमा आफूहरु श्रमदान गर्न तयार भएको बगराका स्थानीय तमबहादुर पुर्जाले बताए । खोलाह पुल नहुँदा कतिपय पर्यटक बीचबाटो बाटै फर्किने गरेको उनले सुनाए ।

प्राकृतिक सुन्दरता र जैविक विविधताको पारखीका लागि राउन्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल भएपनि पदयात्रा सहज नहुँदा आशा गरिए अनुसारका पर्यटक आउन नसकेको धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । गाउँपालिकाको सीमित स्रोतसाधनले पुल निर्माण गर्न सम्भव नभएको उनको भनाइ छ । एक ठाउँमा मात्र पुल बनाउन पनि ३० देखि ३५ लाख रुपैयाँ खर्च हुने भएकाले गाउँपालिकाको बजेट विनियोजन गर्न सम्भव नभएको उनले बताइन् ।

‘पुल हाल्नुपर्ने स्थानहरुको पहिचान गरी माग गरेका थियौं,’ गाउँपालिका अध्यक्ष पुनले भनिन् ‘वर्षौदेखिको हाम्रो माग सम्बोधन नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ ।’ पुल निर्माण गर्न मागपत्रसहित प्रदेश र संघिय सरकारलाई ध्यानकर्षण गराइएको गाउँपालिका अध्यक्ष पुनले बताइन् ।

गाउँपालिकाले पदमार्ग अन्तर्गत विभिन्न ठाउँमा गरी १५ ठाउँमा पुन निर्माण गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । रातोखोला, तातोपानी कुण्ड जाने म्याग्दीखोला, झम्मरुकोट खोला, धाप्चा खोला, कैचीविरै खोला, तलित्रै खोला, हरथेवे खोला, ठाडोओडार खोला, चौरवन खोला, इटाली बेस क्याम्पको म्याग्दी खोला, स्वीस क्याम्प खोला र जापानी बेसक्याम्प नजिक म्याग्दी खोलामा पुलको आवश्यकता छ । १२ स्थानमा झोलुङ्गे पुल र ३ स्थानमा साना कल्बर्टको पहिचान गरिएको गाउँपालिका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताए ।

तपाईको प्रतिक्रिया