दोबिल्लामा खुल्यो माउन्टेन ग्लोरी रिसोर्ट

समाधान संवाददाता २०७६ साउन २४ गते १४:०४

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका २१ दोबिल्लास्थित रहिचौरमा संयुक्त लगानीमा निर्मित ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । रिसोर्टमा पर्यटकको बसाइ सुरु भइसकेको छ । रिसोर्टमा ८ जनाको लगानी छ ।

रिसोर्ट निर्माणाधीन अवस्थामा रहँदादेखि नै स्वदेशी र विदेशी पर्यटकको ध्यान खिच्न सफल भएको रिसोर्टका सेल्स एन्ड अपरेसन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए । ‘यहाँको सेवासुविधा तथा सौन्दर्यले नै पर्यटकलाई आकर्षित गरिरहेको छ,’ उनले भने । ७२ रोपनी जग्गामा निर्मित रिसोर्टमा करिब १ अर्ब रुपैयाँ लगानी भएको रिसोर्टका कार्यकारी अध्यक्ष सुनीलभक्त श्रेष्ठले जानकारी दिए । ६४ कोठाबाट रिसोर्टले सेवा सुरु गरेको हो । ‘पोखरामा पहिलोपटक अत्याधुनिक सुविधासम्पन्न जंगल रिसोर्ट खोल्न सफल भएका छौं,’ उनले भने ।

Advertisement

रिसोर्टमा ६ वटा ब्लक र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल, एउटा सुइट र अरू बाँकी सबै सुपर डिलक्स कोठा छन् । पर्याप्त पार्किङ तथा स्वीमिङ पुलको सुविधा पनि रिसोर्टमा छ । जंगलको काखमा रहेको रिसोर्टबाट पोखरा तथा माछापुच्छ्र‍े, अन्नपूर्ण लगायत हिमाली शृंखला लामो रेन्जमा देख्न सकिने सञ्चालक धु्रवबहादुर थापाले बताए ।

‘प्रत्येक रूमबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ,’ सञ्चालक थापाले भने । सेती नदी र फुस्रे खोलाको संगमस्थल तथा वरपरका हरियाली जंगल तथा पहाडको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरमा साइकल ट्रयाक र फुट ट्र्याक पनि बनाइएको छ ।

Advertisement

रिसोर्टमा ठूलासाना गरी ४ वटा हल छन् । उच्च स्तरीय पर्यटक लक्ष्य गरी रिसोर्ट सञ्चालनमा ल्याइएको थापाले उल्लेख गरे । रिसोर्ट पोखरा विमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तरर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलोमिटर दुरीमा पर्छ । रिसोर्टका कार्यकारी अध्यक्ष श्रेष्ठले प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरै पर्यटक आउने विश्वास व्यक्त गरेका छन् । केही समयपछि रिसोर्टमा लगानी बढाएर १ सय कोठा पु‍र्‍याउने श्रेष्ठले बताए । त्यसका लागि करिब ५० करोड रुपैयाँ थप लगानी हुनेछ ।

तपाईको प्रतिक्रिया