बाख्रापालक किसानलाई ४० हजार अनुदान

समाधान संवाददाता २०७६ साउन २४ गते १४:२२

पोखरा १९ का बाख्रापालक किसान प्रवीन आचार्यलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी ।

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो । बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसानलाई ४० हजारका दरले अनुदान रकम हस्तान्तरण गरेका हुन् । ८ वटाभन्दा बढी बाख्रापालक किसानलाई महानगरले खोर निर्माण र बाख्रा खरिदका लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

Advertisement

प्रमुख जिसीले किसानलाई प्रोत्साहन स्वरुप उक्त अनुदान दिएको बताए । उनले केही समयपछि अनुदान अन्त्य गर्नुपर्ने बताउँदै जोखिम न्यूनीकरण गर्न क्षतिपूर्ति कोष र बिमातर्फ किसानलाई आकर्षित गर्नुपर्ने बताए । जनताले तिरेको करबाट नै महानगरले किसानलाई अनुदान दिएकाले यसको सही सदुपयोग गर्न र अन्य किसानलाई पनि प्रेरण दिने गरी काम गर्न अनुदान पाएका किसानलाई प्रमुख जिसीले आग्रह गरे । निर्वाहमुखीभन्दा पनि व्यावसायिक रुपमा खेती तथा पशुपालन गर्न किसानलाई आग्रह गर्दै आगामी दिनमा पनि किसानलाई प्रोत्साहन गर्न महानगरले सक्दो सहयोग गर्ने बताए ।

वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बाख्रापालक किसानलाई मात्र नभई अरु किसानलाई पनि महानगरले सहयोग गर्ने बताए । उनले वडा नम्बर १९ लाई बाख्रापालनको लागि पकेट क्षेत्र बनाउन महानगरले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस पुरन्चौरका क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तवले किसान समृद्ध नहुँदासम्म देश समृद्ध हुन नसक्ने बताए । पोखरा महानगरपालिका पुश सेवा महाशाखाका प्रमुख शिव वाग्लेले व्यावसायिक रुपमा बाख्रापालन गरेका ५० जना किसानलाई ४० हजारका दरले २० लाख अनुदान वितरण गरिएको बताए ।

Advertisement

वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा व्यावसायिक बाख्रापालक किसान समितिका अध्यक्ष शिवबहादुर केसी, वडा समिति सदस्य कृष्ण गौतम र किसान लक्ष्मी अधिकारीले अहिलेको अनुदान वास्तविक किसानले पाएको बताएका थिए । महानगरको पशुसेवा महाशाखाका अधिकृत नवराज अधिकारीले विभिन्न समयमा शिविर सञ्चालन गरी किसानलाई प्राविधिक सेवा पनि उपलब्ध गराउँदै आएको बताए ।

तपाईको प्रतिक्रिया