गुठीको जग्गा हडप्ने प्रयास विरुद्धमा पोखरा महानगर

समाधान संवाददाता २०७६ साउन २५ गते १५:३१
sdr

समाधान संवाददाता

तालबाराही समिधा गुठीको जग्गा भाडामा दिने प्रस्ताव रोक्न गुठी संस्थान त्रिपुरेश्वर काठमाडौंलाई पोखरा महानगरपालिकाले पत्र पठाएको छ । वर्षौदेखि तालबाराही मन्दिर गुठी व्यवस्थापनबाट संरक्षण हुँदै आएको जग्गा भाडामा दिन संस्थानले गरेको प्रस्ताव रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई पत्र पठाएको महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।

पोखरा १८ सिम्पानीस्थित कित्ता नं. ४१९ मा रहेको झन्डै ७१ रोपनीमध्ये ५५ रोपनी भाडामा दिन भन्दै गुठी संस्थानले असार १० गते प्रस्ताव आह्वान गरी प्रक्रिया अघि बढाएको थियो ।
स्थानीय सरोकारवाला र तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले समेत विरोध गर्दै आइरहेकाले भाडामा दिने कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । ‘जग्गा भाडामा दिने प्रस्तावविरुद्ध स्थानीय सरकार र अन्य सरोकारवालाको गम्भीर ध्यानाकर्षण भएकाले उक्त लिजमा दिने कार्य स्थगन गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।’ पत्रमा भनिएको छ ।

Advertisement

महानगरले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत उक्त कार्य रोक्नका लागि जानकारीका साथ पत्रमार्फत अनुरोध गरेको छ ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले समेत जग्गा हडप्न अनेक चलखेल भएको भन्दै भाडामा दिने संस्थानको प्रस्तावप्रति विरोध जनाउँदै आएको छ । ‘गुठीमाथिको हस्तक्षेप हाम्रो परम्परा, संस्कार र संस्कृतिमाथिको हस्तक्षेप हो,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

संस्थानले आह्वान गरेको प्रस्ताव ‘५५ रोपनीसम्मको जग्गामा पूर्वाधार विकास लगायत संरचना निर्माण विकास गरी आयमूलक कार्य सञ्चालन गर्न उपयुक्त हुने भन्ने सम्बन्धित सरोकारवालाहरुसँगको परामर्श सहित स्थलगत निरीक्षण प्रतिवेदन पेस हुन आएको आधारमा’ भनिएको छ । सरोकारवालाको परामर्श भनिए पनि कुन निकाय हो उल्लेख नै नगरी एकलौटी रुपमा जग्गा लिन चाहेको कम्पनीलाई शिरोपर गरेर जग्गा हत्याउन खोजेको स्रोत बताउँछन् । प्रस्ताव पेश गर्दै ३ वर्ष भित्रको २ करोड ५० लाख कारोबार र क्रेडिट लाइन कम्तिमा २० करोड भएको हुनुपर्ने सर्त राखिएको छ । उक्त बुँदा कुनै १ कम्पनीलाई लक्ष्य गरी प्रस्तावमा सर्त राखिएको स्रोतको दाबी छ ।

प्रस्तावको २१ नम्बर बुँदामा भनिएको छ, ‘करार अवधिभर उक्त घरजग्गाको पूर्ण रुपले स्वामित्व गुठी संस्थानमा सुरक्षित रहनेछ तर यो व्यवस्थाले अन्य व्यक्ति वा फर्मलाई भाडामा दिन बाधा पु¥याउने छैन ।’ जसअनुसार गुठीको जग्गामा बिचौलिया प्रवेश हुन कुनै बाधा नपुग्ने देखिन्छ । सस्तोमा भाडामा लिएर लाखौं रुपैयाँ कमिसन खानेगरी उक्त जग्गा लिने कम्पनीले अन्यलाई भोगचलनका लागि दिन सक्ने प्रस्तावले अन्ततः जग्गाको स्वामित्व नै संकटमा पर्ने स्थानीय सरोकारवाला बताउँछन् ।

तपाईको प्रतिक्रिया