‘निगरानी बढे भ्रष्टाचार न्यूनीकरण ’

समाधान संवाददाता
भ्रष्टाचारजन्य गतिविधिमाथि प्रहार गर्न गठित भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था (सिटिजन जुरी) ले शुक्रबार सचिवालय स्थापना गरेको छ । पोखरा ७ स्थित शान्तिनगरमा खोलिएको सचिवालयको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पोखरा प्रमुख काशीराज दाहालले उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुढाले नागरिक स्तरबाट खोलिएका संस्थाले खबरदारी र निगरानी बढाए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताए । उनले सुशासन कायम गर्न संस्थाले चलाएको गतिविधिमा स्थानीय प्रशासनले सहकार्य गर्ने उल्लेख गरे । जन्म दिन विवाह उत्सव लगायत घर घरमा गरिने भोज भतेरलाई नियन्त्रण गर्नुपर्ने चर्चा गर्दै उनले चाडपर्वका नाममा हुने विकृति विसंगतिलाई रोकेर समाज सुधारमा सहयोग गर्नुपर्ने धारणा राखे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालय प्रमुख दाहालले संविधान अनुसार काम, कर्तव्य र दायित्व पूरा गर्न आयोगलाई नागरिकको सहयोग आवश्यक पर्ने बताए । ‘नागरिकका सूचना र सुझावका आधारमा आयोगले काम गरेको छ,’ उनले भने, ‘आयोगले भ्रष्टाचार निवारणका लागि दण्डात्मकमात्र नभएर निरोधात्मक र प्रवद्र्धनात्मक काम पनि गर्छ ।’ उनले निरोधात्मक र प्रवद्र्धनात्मक कार्यक्रममा जनस्तरबाट खोलिएका सामाजिक संघ, संस्थासंँग सहकार्य गर्ने जानकारी दिए ।
सिटिजन जुरीका संस्थापक अध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचारजन्य र अनियमित र गैरकानुनी कार्यलाई नियन्त्रण गर्न संघ, संस्था, सरकारी कार्यालय, स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताए । उनले कानुन भन्दामाथि भएर काम गर्नेलाई राजनीतिक संरक्षण भएको आरोप लगाए ।
वरिष्ठ अधिवक्ता तथा सिटिजन जुरीका अध्यक्ष तिलक पराजुलीले सार्वजनिक सेवा प्रवाहमा सहज र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न व्यक्ति, संस्थामात्र नभएर सरोकारवालाहरु सामूहिक ढंगले लाग्नुपर्ने धारणा राखे ।
नेपाल बार एसोसियसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवाला सबैको साझा एजेन्डा बन्नुपर्ने बताए । कार्यक्रममा पोखरा २ का अध्यक्ष रामेश्वर मल्ल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष विना सिलवाल, सिटिजन जुरीका उपाध्यक्ष प्राडा यादव शर्मा गौडेल, सचिव रामबहादुर पौडेल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया