कारागारमा काुननी परामर्श

समाधान संवाददाता २०७६ साउन २५ गते १५:५०

समाधान संवाददाता

उच्च अदालत बार एसोसिएसन पोखराले जिल्ला कारागार कार्यालय कास्की भित्र रहेका थुनुवा तथा कैदीका लागि कानुनी परामर्श गरेको छ । परिवर्तित कानुनको बारेमा परामर्श गर्ने उद्देश्यले गरिएको कार्यक्रममा बी ब्लकका करिब ३ सय ५० जना बन्दी तथा कैदी सहभागी थिए ।

उक्त अवसरमा उच्च बारका पदाधिकारीले जेलर, नाइके लगायतलाई भेटेर बन्दी तथा थुनुवाका समस्याका बारेमा जानकारी लिएका थिए । अदालतबाट आउनु पर्ने कागजात मौकामा पाउन कठिन भएको, कैद हदका बारेमा एकरुपता नभएको, माफी मिनाहाका विषय, मुद्दा फैसला ढिलो हुने विषय, कानुन व्यवसायीसँग आफूले चाहेको बखत भेटघाट गर्न नपाउने लगायतका गुनासा गरे । निर्दोष मानिसलाई अभियोग लागेको र सही अनुसन्धान नभएर अभियोगपत्र जाँदा बेकसुरदारले सजाय भोग्नु परेको, अदालतमा गइ पीडितले अपराध भएको होइन भनी बकपत्र गरे पनि अदालतले दोषी करार गरेको जस्ता विभिन्न समस्या कैदीबन्दीले सुनाए ।

Advertisement

गुनासाका बारेमा उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष रोहितराज बास्तोला, उपाध्यक्ष उत्तम केसी, कानुनी सहायता समितिका संयोजक रघुनाथ अधिकारीले सहजीकरण गरेको सहसचिव मीनाकुमारी रानाभाटले बताइन् । जेलर गणेश गौतमको समेत उपस्थिति रहेको कार्यक्रममा बारका पदाधिकारी एवं सदस्यको समेत सहभागिता थियो । कार्यक्रममा बारका तर्फबाट अध्यक्ष बास्तोलाले कानुनका विभिन्न पुस्तक प्रदान गरेका थिए । एमनेस्टी इन्टरनेसनल नेपाल अन्नपूर्ण समूह ५४ का संयोजक भानु पराजुली, निवर्तमान संयोजक अनन्तप्रसाद कोइराला लगायतको उपस्थितिमा पुस्तक वितरण गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया