गुरुयोजना बनाएर समस्या सुल्झाऔं ः जिसी

समाधान संवाददाता २०७६ साउन २५ गते १५:५६

समाधान संवाददाता

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले द्वन्द्व सकिएर देश संघीय गणतन्त्र बनिसक्दा पनि द्वन्द्वका पीडितहरुको अवस्था उस्तै रहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले द्वन्द्वका वास्तविक पीडितको तथ्यांक संकलन गरी समस्या सुल्झाउन महानगर तयार रहेको बताए । उनले भने, ‘नेपालमा ७६१ सरकार छन्, हामी महानगरमा गुरुयोजना बनाएर यो समस्या सुल्झाउन तयार छौं । अरु सरकारले पनि हाम्रो सिको गरुन् ।’

मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले शुक्रबार आयोजना गरेको ‘द्वन्द्वपीडित महिलाका सवाल’ विषयक प्रदेश स्तरीय छलफलमा मेयर जिसीले यस्तो बताएका हुन् । उनले बेपत्ता, एकल, मृत्यु भएकाहरुको परिवारको पीडा आफूले पनि महसुस गरेको बताए । उनले भने, ‘राज्यले आयोगहरु बनाएको छ तर समस्या सुल्झेको छैन । यस्ता कार्यक्रम हुने पीडामात्र थप्ने जस्तो भएको छ ।’ द्वन्द्व र शान्तिपूर्ण संघर्षकै परिणाम स्वरुप राज्य नयाँ संरचनामा गइसक्दा पनि समस्या नसुल्झिदा पीडितहरु थप आहात भएको उनले बताए ।

Advertisement

मानवअधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय कोषाध्यक्ष प्रतिभा विष्टले द्वन्द्व पीडित महिलाका समस्यालाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

द्वन्द्व पीडित जसोदा शर्माले बेपत्ताका परिवारले अनेक समस्या झेल्नुपरेको सुनाइन् । अन्य द्वन्द्व पीडितले शिक्षा, स्वास्थ्य, उद्योग र सशक्तीकरणका लागि द्वन्द्व पीडितलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने माग गरे ।

Advertisement

कार्यक्रममा द्वन्द्व पीडित महिलाका समस्याबारे सवनम शर्माले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्की प्रमुख उमा गौतम, कृषि ज्ञान केन्द्रका शालिग्राम अधिकारी, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य किशोर बराल, द्वन्द्वपीडित समूह पर्वत अध्यक्ष मनरुपा शर्मा लगायतले बोलेका थिए । कुर्भे रोस्टोको सहयोगमा भएको कार्यक्रम मानवअधिकारका लागि महिला एकल महिला समूहका सहसचिव हरिमाया बरालले सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया