मुख्य सडक क्षेत्रका फुटपाथ व्यवस्थित बनाइने

समाधान संवाददाता २०७६ साउन २५ गते १६:०१

मुख्य सडक क्षेत्रमा फुटपाथ मिचेर राखिएका सामान हटाउनका लागि चिन्ह लगाउँदै गोरखा नगरपालिकाका प्राविधिक । तस्बिर ः मोहसिन अलि मियाँ÷समाधान

मोहसिन अलि मियाँ

गोरखा नगरपालिकाले बजारक्षेत्रमा खोलखोलेसम्मको सडक फुटपाथ व्यवस्थित बनाउने भएको छ । गोरखा ६ को अधिकांश मुख्य सडकमा नाली र बजार क्षेत्रमा फुटपाथ निर्माणको काम केही वर्षअघि नै सकिएको छ । तर सिमानामा पर्ने वडा नम्बर ८ को प्रतीक्षालयदेखि खोलखोलेसम्म अहिलेसम्म पनि नाली र फुटपाथ व्यवस्थित हुन नसक्दा सवारी चालक र पैदल यात्रुसमेतले सास्ती भोग्नुपरेको छ । साँघुरो सडक, बढ्दो सहरीकरण र व्यापारीकरणका कारण बजार अस्तव्यस्त बनेकाले नगरपालिकाले यसवर्ष खोलखोलेसम्मको फुटपाथ व्यवस्थित बनाउन लागेको जनाएको छ । ‘बजार ठूलो भइसकेको छ, ठूला होलसेल र सोरुमहरु सबै यस क्षेत्रमै छन्’ नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईँले भने, ‘साँघुरो बाटो त्यसमा पनि सडकसम्मै सामान स्टोर गर्ने र पार्किङ भइरहेकाले बजार कुरुप भयो, अब सबै हटाउँछौं ।’

Advertisement

नगरपालिकाले प्रतीक्षालयदेखि खोलखोलेसम्मको सडक क्षेत्रमा दायाँबाँया नालीको डिलबाट साढे ३ मिटर अस्थायी फुटपाथ निर्माण अघि बढाएको छ । कार्यालयका प्रमुख प्राविधिक प्रकाश ढकालसहितको टोलीले बिहीबार त्यस क्षेत्रमा नापजाँच गरी चिह्न लगाएका छन् । ‘गत १५ गते हामीले पहिलो चरणको सर्वे गरेका थियौं, फुटपाथको क्षेत्र च्यापेर सामान राख्नेलाई हटाउन भनेका थियांै’ अम्गार्इँले भने, ‘यो दोस्रो चरणको अनुगमन हो, आज हामीले नापेरै चिन्ह लगाइदिएका छांै, अब पनि त्यस क्षेत्रमा सामान राखियो भने हामी जफत गर्छौँ ।’

फुटपाथ व्यवस्थित बनाउने, सडक दुर्घटना कम गराउने, अतिक्रमण रोक्ने, पैदल मार्ग बनाउने लगायत उद्देश्यले उक्त क्षेत्र खाली गराउन लागिएको कार्यालयले जनाएको छ । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको नेतृत्वमा बिहीबार भएको अनुगमनका क्रममा ३० वटा पसल तथा घरले फुटपाथ अतिक्रमण गरी सामान राखेको र संरचना निर्माण गरेको पाइएको छ । ‘हामीले पहिलो अनुगमनमा पनि चेतावनी दिइसकेका छौं, अहिले पनि भनेका छांै, अब २८ गते सबैलाई कार्यालयमा बोलाएर छलफल गर्दैछांै’ प्रशासकीय अधिकृत अम्गाईँले भने, ‘त्यसपछि पनि अटेरी गरियो भने हामी डोजर चलाउँछौं, सामान जफत गर्छौँ ।’

Advertisement

यस क्षेत्रमा सबैभन्दा बढी मोटरसाइकल वर्कसप, सोरुम, ग्रिल उद्योग, होटल, ठूला व्यावसायिक स्टोर अस्तव्यस्त सञ्चालन हँुदै आएका छन् । सडक र फुटपाथको क्षेत्र अतिक्रमण गरी राखिएका सामान र बनाइएका संरचना हटाउन नगरपालिकाले २८ गतेसम्मको समय सीमा दिएको र सो दिनसम्म पनि नहटाएमा जरिवानासहित कारबाही गर्ने गोरखा ८ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । यस क्षेत्रमा नाली र स्थायी फुटपाथ निर्माणका लागि समेत पहल भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया