घिरिङको बजेट ३९ करोड

समाधान संवाददाता २०७६ साउन २५ गते १६:०५

राजन उपाध्याय, दुलेगौंडा

घिरिङ गाउँपालिकाले ३९ करोड २४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालय पोखरीछापमा बिहीबार गत वर्षको समिक्षा तथा चालु वर्षको वार्षिक कार्यक्रम सार्वजनिक एवं अन्तक्र्रियामा बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले सबैभन्दा बढी पूर्वाधार विकासमा बजेट विनियोजन गरेको छ । पूर्वाधारतर्फ १४ करोड १६ लाख रुपैयाँ छुट्याइएको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । सामाजिक विकासमा ५ करोड ३२ लाख, यातायात पूर्वाधारमा ३ करोड ४१ लाख, खानेपानी तथा सरसफाइमा ४ करोड ६५ लाख, जलस्रोत र सिंचाइ १ करोड २० लाख र पर्यटन क्षेत्रमा ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Advertisement

गाउँपालिकाले ५ वटा वडाका लागि ११ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नं. १ मा २ करोड १६ लाख, २ मा २ करोड ३५ लाख, ३ मा २ करोड ३२ लाख ५० हजार, ४ मा २ करोड १६ लाख र ५ नं. वडामा २ करोड २६ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । गाउँपालिकाका गौरवको योजनाका लागि ९ करोड २० लाख रुपैया विनियोजन गरिएका अध्यक्ष रानाले बताए ।

नेपाल सरकारबाट ससर्त अनुदान १० करोड २५ लाख, वित्तीय समानीकरणमा ८ करोड २२ लाख र राजस्व बाडँफाडमा ६ करोड ७५ लाख रुपैयाँ छ । प्रदेश सरकारबाट सशर्त अनुदानमा १ करोड रुपैया, वित्तीय समानिकरणमा १ करोड २१ लाख ५७ हजार र राजस्व बाडँफाडमा २८ लाख २७ हजार रुपैयाँ प्राप्त हुनेछ ।

Advertisement

प्रदेश सांसद आशा कोइरालाले लामो समयदेखिको आन्दोलनका कारण प्राप्त राजनीतिक अधिकार पार्टीहरुबीच झगडा भएमा गुम्न सक्ने चेतावनी दिइन् । ‘हामीले अधिकार प्राप्तिका लागि धेरै समय खर्चियौं,’ उनले भनिन, ‘तर अहिले प्राप्त अधिकार सदुपयोग भन्दा पनि एकले अर्कालाई गाली र झडा गर्ने तिर लाग्यौं भने मुलुक ठूलो दुर्घटनामा फस्न सक्छ ।’ नेतृ कोइरालाले निर्माणको जिम्मा लिने निर्माण व्यवसायीले समयमै काम नसक्नु अपराधसरह भएको बताइन् । सेती पारीका क्षेत्रलाई प्रदेशले प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

रिसिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले संघीय सरकारले अधिकार आफैंमा राख्ने प्रवृत्ति देखिएको भन्दै विरोध गरे । यसको पछिल्लो उदाहरण एकल अधिकार कटौती भएको उनले बताए । नेकपा तनहुँका सहइन्चार्ज प्रतापलाल श्रेष्ठले गाउँपालिकाको नीति तथा कार्यक्रमले सबैलाई समेटेको बताउँदै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेकपा जिल्ला सचिव राजेन्द्रकेसरी न्यौपाले सबै मिलेर विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिए । नेकपा जिल्ला कमिटी सदस्य विष्णुभक्त सिग्देलले कालीगण्डकी डाइभर्सनको विषयमा रिसिङ र घिरिङ गाउँपालिका एक भएर विरोध गर्नुपर्ने आवश्यकता औंल्याए । नेकपा घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा, नेपाली कांग्रेसका नेता सुशीलकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठन घिरिङका अध्यक्ष प्रेमबहादुर थापा, नेपाल शिक्षक संघ घिरिङका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । गाउँपालिका उपाध्यक्ष सरस्वती घिमिरे सिग्देलले गाउँपालिकाको ११ बुदाँमा दीर्घकालीन नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।

तपाईको प्रतिक्रिया