तीजमाथिकाे हस्तक्षेपमा हिन्दु महासंघकाे आपत्ति

समाधान संवाददाता २०७६ साउन २६ गते १२:११

समाधान संवाददाता
पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले भड्किलो तीज नमनाउन भनी प्रकाशन गरेको सूचनाले तीजलाई कुण्ठित पारेको भन्दै सूचनाविरुद्ध आपत्ति जनाउँदै विश्व हिन्दु महासंघ कास्की विरोधमा उत्रिएको छ ।

तीज भड्किलो बनेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ९ गते सूचना निकाल्यो । उक्त सूचनामा पछिल्ला वर्षमा तीज भड्किलो हुँदै गएको भन्दै होटल तथा पार्टी प्यालेसमा मनाउनेलाई कारबाही गरिने चेतावनीसमेत उल्लेख गरिएको थियो ।

Advertisement

यसअघि विभिन्न संघ संस्थाले महिनौं दिनदेखि दर खाने नाममा पार्टी प्यालेस र होटलमा जम्मा हुने र तडक भडक देखाएको भन्दै विकृतिमुक्त तीज माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए । महिनौंदेखि दर खाने नाममा विकृति भित्र्याएर महिलाको महान् पर्व तीजले नहुनेलाई खर्चको पिरलो पारेको गुनासोसमेत बढिरहेको छ ।

विश्व हिन्दु महासंघ कास्की अध्यक्ष पार्वता पौडेलले होटल तथा पार्टी प्यालेसमा दर खान पाउनुपर्ने बताएकी छन् । बढ्दो सहरीकरणसँगै कोठा भाडामा बस्नेका आफन्त धेरै हुने तर ठाउँ सानो भएको कारण घरमा नै दर खुवाउन सम्भव उनको तर्क छ ।

Advertisement

उनले तीज मनाउन कास्की प्रशासनले अवरोध गरी हिन्दु धर्ममाथि प्रहार गरेको आरोप लगाइन् । प्रशासनले सूचना नसच्याए विश्व हिन्दु महासंघ कास्की कानुनी बाटो अपनाउन बाध्य हुने चेतावनीसहित विज्ञप्ति प्रकाशित गरेको छ ।

विश्व हिन्दु महासंघ कास्की सचिव कमल पौडेलले पोखरामा विभिन्न संघ संस्थाले आफूहरुलाई समर्थन गरेको बताए । समाज विकास भएसँगै परिस्थिति फरक पर्ने भन्दै होटल तथा पार्टी प्यालेसमा तीज मनाउँदा कसैले छेक्ने नपाउने उनले जिकीर गरे । होटल तथा पार्टी प्यालेसमा तीज मनाउन नदिएर सरकाले ज्यादती गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया