बागलुङमा उपनिर्वाचनको तयारी
गलकोट, रासस
निर्वाचन आयोगले मंसिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको १ प्रदेशसभा र १ वडाध्यक्ष गरी २ स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्य अन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।
निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले बताए । प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ मा गत निर्वाचनमा ३३ हजार २ सय ४० मतदाता सहभागी थिए । यस पटक ३६ हजार ५ सय मतदाताको नामावली संकलन भएको छ ।
वडातर्फ बडीगाढ गाउँपालिका २ मा गत निर्वाचनमा १ हजार ७ सय ७० मतदाता थिए । यस पटक १ हजार ८ सय २ जनाको मतदाता नामावली संकलन भएको निर्वाचन अधिकृत पौडेलले बताए । ‘अहिले प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि २ ठाउँमा निर्वाचन गराउनुपर्ने भएको छ’, पौडेलले भने । ‘रिक्त रहेको प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र नं २ को ‘ख’ र १ वडा अध्यक्षमा निर्वाचन गर्ने तयारी थालिएको हो ।’ पौडेलका अनुसार अहिले तथ्यांक प्रशोधनकै क्रममा रहेकाले मतदाता संख्यामा केही तलमाथि हुनसक्ने छ ।
प्रदेशसभा सदस्य अन्र्तगत क्षेत्र नं २ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका २ मा ४ गरी ४६ मतदानस्थल रहेको पौडेलले जानकारी दिए । निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ । प्रदेश सभा सदस्य क्षेत्री राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुषाल तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जितेका हुन् । जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गतवर्ष मंसिर २६ मा निधन भएको थियो ।
तपाईको प्रतिक्रिया