कथाले बदलेको नाउरीकोट

नाउरीकोटमा कबड्डी चलचित्र युनिटले चिनाएको मायाको होटल ।
तस्बिरः प्रकाश पौडेल
एसके थकाली
जोमसोम
मुस्ताङको थासाङ २ को नाउरीकोट गाउँ पछिल्लो समयमा चर्चामा छ । २०७३ सालमा त्यहाँ नेपाली चलचित्र कबड्डी छायाकंन भयो । यो फिल्म हेरेका दर्शकले नाउरीकोटको प्राकृतिक दृष्यका साथै मायाको होटल गुरु स्याङ्बो लजलाई सम्झिए ।
निर्देशक रामबाबु गुरुङसहित नायक दयाहाङ राई, निश्चल बस्नेत लगायतका कलाकार त्यहाँ पुगेका थिए । फिल्म सार्वजनिक भएपछि नाउरीकोटको चर्चा चुलियो । यहाँ पर्यटक बढे । चलचित्र छायांकनअघि सामान्य होमस्टेका रुपमा सञ्चालन लज देश विदेशका पर्यटकसँग जोडियो ।
मायाको होटलउर्फ गुरु स्याङ्बो लज फरक शैलीको छ । कबड्डी प्रर्दशनपछि यहाँ अन्य देशका फिल्मसमेत खिचिएको होटलकी सञ्चालक नरस्याङ्वो गौचनले जानकारी दिइन् । गौचनको उक्त होटलमा अहिलेसम्म आधा दर्जन फिल्म छायांकन भइसकेका छन् । उनी भन्छिन्, ‘नाउरीकोट र होटललाई चिनाउने कबड्डी नै हो । कबड्डीले मेरो भाग्यरेखा नै कोरिदियो ।’
गौचनको होटललाई मायाको घर बनाइएको थियो । मायाले के जादू छरिन् र यो होटलको चर्चा हुने गर्छ, यो अनुत्तरित प्रश्न हो । फिल्मकी नायिकासमेत रहेकी मायाको मीठो आतिथ्यता र उनको प्रस्तुति दर्शकको मन मस्तिष्कमा बस्यो । यसैले मानिस खोजी खोजी आउँछन् अचेल नाउरीकोट गाउँ र मायाको होटलमा पर्यटक ।
अहिले गौचनले नजिकै पक्की घर बनाएकी छन् । तर उनी कबड्डीले बनाइदिएको होटलको स्टाटस मेट्न चाहन्नन् । उनी भन्छिन्, ‘यो घर झनै पुरानै होस् । यसको स्वरुप फेर्दिनँ ।’ नरस्याङ्वोको होटलमा अर्गानिक खानाका साथै टिपिकल थकाली खाना पाइन्छ । भेडा, च्याङग्रा र याकको सुकुटी, उवाको रक्सी होटलका मुख्य ब्रान्ड बनेको उनले सुनाइन् ।
नरस्याङ्वोको होटलमा अफ सिजनमा पनि पर्यटक टुट्दैनन् । उनको होटल नजिकै थासाङ रिसोर्ट छ । होटलका मालिक अर्जुनसिंह तुलाचनले कबड्डी छायांकन अघि नाउरिकोट बेखबर रहेको बताए । नाउरीकोटलाई कबड्डीले नसोचेको गुन लगाएको उनले उल्लेख गरे ।
समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरमा पर्छ नाउरिकोट । ८–१० घरधुरी रहेको नाउरीकोटबाट धौलागिरी र नीलगिरी हिमालको मनमोहक दृश्य देखिन्छ । नाउरीकोट वरपरको खेतीयोग्य जमिनमा उवा, फापर, जौ र आलु फल्ने सिजनमा त्यहाँको प्राकृतिक दृष्य लोभलाग्दो हुन्छ । पर्यटक त्यही बाटो हुँदै धौलागिरी बेसक्याप पुग्छन् ।
नाउरीकोटसम्म साविक जिल्ला विकास समितिले मोटर बाटो पुर्याएको हो । अहिले त्यही बाटोलाई थासाङ गाउँपालिकाले स्तरोन्नति गरेको छ ।
तपाईको प्रतिक्रिया