डेंगुबारे सचेतनामूलक कार्यक्रम

समाधान संवाददाता २०७६ साउन २७ गते १२:२७
42189902 - mosquito on human skin at sunset

समाधान संवाददाता
पोखरा

पोखरामा डेंगुको प्रकोप बढ्दै जादाँ सचेतनामूलक कार्यक्रम थालिएको छ । पोखरा ८ मा डेंगुका बिरामी फेला परेपछि एयरपोर्ट टोल विकास संस्थाले टोलसहित ८ नम्बर वडाभित्रका विभिन्न टोलमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

पोखराको ८ मा मोटर ग्यारेज र कवाडी संकलन केन्द्र रहेको र त्यहाँ पानी जम्ने र डेंगु फैल्याउने लामखुट्टे बढी मात्रामा पाइएको छ । ड्रम, टायर, प्लास्टिकका भाडा, बोतल लगायतका सामग्री पानी जम्ने गरी नराख्नसमेत आग्रह गरिएको छ ।

Advertisement

शुक्रबार एयरपोर्ट टोल विकास संस्थाका सदस्य तथा टोलबासीलाई डेंगु रोगको बारेमा जानकारी दिइएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले डेंगु रोग फैलिन नदिनका लागि संस्थाले थालेको अभियानलाई अन्य वडामा समेत पुर्‍याउनुपर्नेमा जोड दिए ।

वडा नम्बर ८ का वडा सदस्य किरण गौतमले अघिल्लो वर्ष पनि पोखरा ८ बाटै कास्कीमा डेंगु देखा परेको बताए । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अधिकृत नवराज पौडेलले डेंगु रोग भदौ, असोज र कार्तिक महिनामा देखा पर्ने जानकारी दिए । डेंगु रोग लागेकालाई टोकेको एडिज प्रजातिको लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा डेंगु सर्छ । दिउँसोको यसले टोक्ने भएकाले शरीर पूरै ढाक्ने गरी कपडा लगाउन पौडेलले सुझाव दिए । घर वरिपरि सरसफाइ गर्ने र पानी जम्न नदिने हो भने यसले फुल, लार्भा र प्युपा उत्पादन गर्न नसक्ने उनको छ ।

Advertisement

संस्थाका अध्यक्ष सावित्री घिमिरेले वडाबाट डेंगु रोग देखा परेकाले यो वर्ष पनि अघिल्लो वर्ष जस्तै सचेतना कार्यक्रम गरेको बताइन् । पोखरा ८ र ९ मा धेरै डेंगुका बिरामी भेटिएका छन् भने १, २, ४, ५, ६, १०, १७ र २५ वडामा गरी २७ जना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया