पोखरेलीलाई सुदूरपश्चिमको निम्तो

समाधान संवाददाता २०७६ साउन २७ गते १५:३९

समाधान संवाददाता
पोखरा

पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिले उद्योगी, व्यवसायीले भोगेका समस्या समाधानका लागि समान धारणा बनाउने भएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन लगायत लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीका लागि आउँदा दिनमा सहकार्य गर्ने प्रतिवद्धता पनि गरेका छन् ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधि मण्डललाई आइतबार पोखरामा स्वागत गर्दै संघका कार्यवाहक अध्यक्ष विन्दु कोइराला सुवेदीले उद्योगी, व्यवसायीबीच मूल मुद्दामा एकमत हुनुपर्ने धारणा राखिन् । उनले पर्यटन उद्योगमा अब्बल देखिएको पोखरा र सुन्दरताले भरिएको सुदूरपश्चिमबीच पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याइन् ।

Advertisement

कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवरले ‘पहिला देश, अनि विदेश’ भन्ने मान्यता अनुसार आफूहरु देश भ्रमणमा निस्केको बताए । उनले सुन्दर भएर पनि पछि परेको सुदूरपश्चिमको प्रचार गर्नु भ्रमणको उदेश्य भएको बताए । कैलाली उद्योग वाणिज्य संघकै पहलमा पश्चिममा १ हजार पर्यटकीय गन्तव्य पहिचान भएको उल्लेख गर्दै उनले ती ठाउँको भ्रमण गर्न पोखरेलीसँग आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव चिनु गुरुङले उद्योगी, व्यवसायीले भोगेका समस्या समान खालको भएकाले त्यसको समाधानमा पनि एउटै धारणा हुनुपर्ने दोहो¥याइन् । कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले सम्भावना नै सम्भावना भए पनि राज्यले उचित ध्यान नदिँदा पश्चिम क्षेत्रपछि परेको बताउँदै उनले निजी क्षेत्रले सुदूर पश्चिमको प्रवद्र्धनको लागि निरन्तर काम गर्दै आएको बताए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम आचार्यले कैलाली उद्योग वाणिज्य संघको सचिवालय सञ्चालन र अन्य विषयबारे जिज्ञासा राखे । अर्का सदस्य रामेश्वर अधिकारीले पोखरा उद्योग वाणिज्य संघले सामाजिक क्षेत्रमा गरेका योगदानले यसलाई जेठो संस्था बनाएको बताए ।

सदस्य हरिराज पन्तले ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली अव्यवहारिक भएको गुनासो गरे । अर्का सदस्य तारानाथ ढुंगानाले नेपाल उद्योग वाणिज्य संघमा रहेका व्यक्तिहरु नै सरकारको प्रवक्ता जस्तो देखिँदा व्यवसायीको मुद्दा ओझेलमा परेको धारणा राखे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको सचिवालय सञ्चालनबारे कार्यकारी निर्देशक टोपबहादुर थापा र कैलालीबारे त्यहाँका कार्यकारी निर्देशक गोमा अधिकारीले जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया