जिप्रकाकाे थानामा जुवाडे नअटाएपछि…

समाधान संवाददाता २०७६ साउन २८ गते १२:११

ईश्वर देवकोटा
पोखरा

कास्की प्रहरीले २ दिन गरेको अप्रेसनमा ४० जना जुवाडे पक्राउ परेपछि हिरासत कक्ष भरिएको छ । पोखराका विभिन्न ५ ठाउँमा साउन २५ र २६ गते जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले मारेको छापामा ठूलो परिणामको नगदसहित उनीहरु पक्राउ परेका हुन् । एकैपटकमा ठूलो संख्यामा पक्राउ परेका जुवाडेलाई राख्न थुनुवा कक्षको क्षमताले थेग्न नसकेको जिप्रका कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश सुवेदीले जानकारी दिए ।

हिरासत कक्षको क्षमता भन्दा बढी व्यक्ति पहिले नै थुनामा छन् । अधिकतम ५० जनालाई हिरासतमा राख्न मिल्ने क्षमता जिल्ला प्रहरी कार्यालयमा छ । तर कास्की प्रहरीको हिरासतमा ८७ मुद्दाका १ सय ५४ जना आरोपीलाई अटाइनअटाई थुनिएको राखिएको छ ।

Advertisement

जुवातास सम्बन्धी गतिविधिमा पक्राउ परेकालाई सार्वजनिक मुद्दा चलाइने भएकाले पनि प्रहरीले २५ दिनसम्म हिरासतमै राखिने इन्स्पेक्टर सुवेदीले बताए । सार्वजनिक मुद्दामा म्याद थप गर्दै प्रहरीले हिरासतमा महिनादिनसम्म राख्नुपर्दा समस्या देखिएको हो । ‘२ दिनमा नै धेरै मान्छे पक्राउ परे । हिरासत कक्ष सानो छ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘त्यस कारण जिल्लाबाट १८ जना जुवाडेलाई वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखेका हौं ।’

सिसुवामा १०, बैदाममा ७, बगरमा ६ र रामबजारमा २ जनालाई राखिएको उनले बताए । बैदामले समेत मुद्दा चलाउने अधिकार पाएकाले ७ जनालाई वडाबाटै प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए । १८ जना भने जिल्लाको हिरासत कक्षमा नअटाएपछि म्याद थप गर्दै वडा कार्यालयको थुनामा राखिएको हो । यसअघि पक्राउ परेकासहित जिल्ला र बैदाममा समेत गरेर ५२ जना जुवाडे प्रहरी हिरासतमा छन् ।

Advertisement

कहाँ–कहाँबाट पक्राउ परे जुवाडे
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले २ दिनमा ५ ठाउँबाट ४० जुवाडे पक्राउ गरेको हो । उनीहरुबाट २ लाख ५८ हजार ३ सय २० रुपैयाँ नगदसमेत बरामद गरेको इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।

पोखरा ५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार कास्की प्रहरीले छापा मार्दा ८ जना पक्राउ परेका थिए । उनीहरुबाट १ लाख २१ हजार १ सय ४० रुपैयाँ र ४ बुक तास बरामद गरेको सुवेदीले बताए । शनिबार नै वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ नागढुंगास्थित नीरज होटलमा समेत छापा मारेको थियो । बालकृष्ण शर्माले सञ्चालन गरेको होटलको तेस्रो तलामा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन् । उनीहरुबाट ६२ हजार ८ सय ३५ रुपैयाँ र ४ बुक तास प्रहरीले बरामद गरेको छ ।

त्यस लगत्तै आइतबार समेत अनुसन्धान तीव्र बनाएको कास्की प्रहरीले ३ ठाउँमा छापा मारेको थियो । पोखरा ३२ झैरीचोकस्थित स्थानीय रामराज पौडेलको गोठमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेको इन्स्पेक्टर सुवेदीले जानकारी दिए । उनीहरुबाट ३२ हजार ८ सय १५ रुपैयाँ र ४ बुक तास बरामद गरेको उनले बताए ।

पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परे । उनीहरुबाट २५ हजार २ सय रुपैयाँ र ३ बुक तास बरामद भएको छ । सोही दिन पोखरा १० रामघाटस्थित होटल पर्वतमा समेत प्रहरीले छापा मारेको थियो ।

विष्णु गुरुङको घरमा उर्मिला लामिछानेले सञ्चालन गरेको होटलबाट ६ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ३६ हजार ३ सय ३० रुपैयाँ र ४ बुक तास बरामद गरिएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए । पक्राउ परेकामध्ये १२ जना महिला छन् । प्रहरीले छापा मारेको ठाउँ पस्र्याङ, दीप र रामघाटमा महिला जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया