बनेकाे २ हप्तामै भत्कियाे छाब्दीबाराही जाने कालाेपत्र बाटाे

समाधान संवाददाता २०७६ साउन २८ गते १२:५९

कृष्ण न्यौपाने
दमौली

तनहुँको व्यास नगरपालिका १२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको २ हप्तामै भत्किएको छ । दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा ट्याक्टरको कारण सडकको केही भाग भत्किएको हो ।

छाब्दी बसपार्क नजीकैको सो सडकमा २ हप्ताअघि मात्र कालोपत्र गरिएको थियो । तर आलो सडकमै लोड ट्र्याक्टर हिँडाएका कारण सडकको केही भाग भत्किएको छ । खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आएको लोड ट्र्याक्टरको बीचको पांग्राले सडक किनाराको केही भाग भत्काएको हो ।

Advertisement

गण्डकी प्रदेश सरकारको १ करोडको लागतमा सो सडक कालोपत्र गरिएको थियो । भौतिक पूर्वाधार कार्यालय नवलपुरले टेन्डर प्रक्रियामार्फत कालोपत्र गरेको सडकमा ट्र्याक्टर चालकको लापरवाहीले सडक भत्किएपछि स्थानीयले प्रदेश सरकारकै आलोचना गर्न थालेका छन् । तर सडक अनुगमन गर्ने जिम्मेवारी उपभोक्ता समिति र उपभोक्ताको पनि भएको हुँदा सबै दोष प्रदेश सरकारलाई दिनु न्यायोचित नभएको केही स्थानीय बताउँछन् ।

संघीय सरकारको लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका १ को कुन्छाली गाउँदेखि व्यास नगरपालिका १२ भड्खालासम्मको ८ सय मिटर सडकमा पक्की नालासहित कालोपत्र गरिएको थियो । भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको २ करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको १ करोड बजेटबाट कालोपत्र गरिएको हो । संघ र प्रदेशको बजेटबाट लगाएको टेन्डरको काम सम्पन्न भइसके पनि नगरपालिकाले लगाएको टेन्डरको भने अझै काम सकिएको छैन ।

Advertisement

संघ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमन्ड कन्सट्रक्सन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का भने जिएस कन्सट्रक्सनले पाएको थियो । उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको डायमन्ड प्रालिका प्रोपाइटर आरसीपौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी ट्र्याक्टर जबर्जस्ती सडकमा लगिँदा सडक भत्किएको बताए । भर्खर कालोपत्र गरिएको सडकमा त्यसरी लोड ट्र्याक्टर प्रवेश गराउन नहुने भन्दै उनले शाखा सडकभन्दा निर्माण गरिएको सडक अग्लो बनेको र त्यसमा जबर्जस्ती लोड गरिएको गाडी ल्याउँदा सडक भत्किएको
जानकारी दिए ।

भौतिक पूर्वाधार कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले सडक कालोपत्रको
गुणस्तरमा कुनै कमजोरी नभए पनि तत्कालै लोड ट्र्याक्टर हिँडाएको कारण सडकमा
क्षति पुगेको बताए । यस बारेमा अझ स्थलगत अध्ययनपछि थाहा हुने भन्दै भण्डारीले उक्त कालोपत्रको भुक्तानी भइनसकेको हुँदा गुणस्तरहीन काम भएको भए भुक्तानी रोक्ने जानकारी दिए । छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले पनि ट्र्याक्टरकै कारण सडक भत्किएको बताउँदै प्रदेश सरकारलाई दोष दिनुको कुनै औचित्य नभएको बताए ।

छाब्दीबाराही गुरुयोजना तयार

व्यास १४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिरको गुरुयोजना तयार भएको छ । छाब्दीबाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो । छाब्दीबाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए ।

गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकीकरण र फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछा लगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्ने लगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीबाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि ७ उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको गुरुयोजना निर्माणका संयोजक एवं पोखरा क्याम्पसका उपप्राध्यापक श्रीकान्त खतिवडाले जानकारी दिए । मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्ग ढुंगा बिछ्याउने, बराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।

गुरुयोजना अनुसार अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमका लागि १ करोड ९६ लाख ४० हजार बजेट आवश्यक पर्छ । छाब्दीबाराही मन्दिर आउने भक्तजनलाई आकर्षित गर्न मन्दिर परिसरमा १० फिटको मत्स्यदेवीको मूर्ति प्रतिस्थापन गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया