‘मुद्दाले वकिल खोज्नु पर्छ’

समाधान संवाददाता २०७६ साउन २८ गते १३:०२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मानिसमा केही गरौं भन्ने भाव, उत्साह, जाँगर, कुनै लक्ष्यमा पुग्ने मनसाय धेरै हदसम्म खत्तम भइसकेको बताएका छन् । नेपाल कानुन व्यवासायी परिषद्को २६ औं स्थापना दिवसका अवसरमा नेपाल कानुन व्यवसायी परिषद् क्षेत्रीय कार्यालय पोखराले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् ।

‘यस्तो जर्जर दुखी र अत्यन्त थला परिसकेको समाजलाई उठाउमा संसारभर कानुन व्यवसायीको अत्यन्त ठूलो हात रहेको छ त्यो मानेमा कानुन व्यवसाय जस्तो सम्मानित पेसा अर्को छैन भन्ने मेरो निक्र्यौल हो’ उनले भने, ‘त्यसैले कानुन व्यवसाय भनेको समाजको समादेशक, सर्वाधिकारी, परमाधिकारी हो । तर, त्यसको कर्म राम्रो हुनुपर्छ, हुनुपर्दोरहेछ ।’

Advertisement

प्रदेश प्रमुख कुँवरले पछिल्लो समय कानुन व्यवसायमा अराजकता बढ्दै गएको बताउँदै यो व्यवसायलाई मर्यादिन बनाउन कानुन व्यवसायी आफैं इमान्दार हुनुपर्ने सुनाए । ‘अहिले कानुन व्यवसायीलाई खिसिटिउरी गर्ने दिन आइसकेको छ । सुन्दै अति दर्दनाक लाग्ने, बिचौलिया के–के शब्द प्रयोग भइरहेको छ यो दुखद कुरा हो’ उनले भने, ‘मुद्दाले वकिल खोज्दै आउनुपर्छ, वकिलले मुद्दा खोज्दै जानु हुँदैन । त्यो बानी परेमा क्षमतामा अभिवृद्धि हुँदैन । पैसा आउँछ, व्यवसायिकता आउँदैन । यि सबै कुरा सोच्न सकियो भने व्यसायिकता आफैमा प्रष्फुटित हुन्छ, आफैमा पुष्पित र पल्लवित हुन्छ ।’

प्रदेश प्रमुख कुँवरले व्यवसायिकता सँगैसँगै मर्यादापूर्वक लिएर जाने व्यवसायीले मात्रै त्यो व्यवसायको मान राख्ने बताए । ‘व्यवसायिकता पछाडी छाडेर एउटा व्यवसायी धेरै माथि पुग्न सक्दैन । जसले मर्यादापूर्वक व्यवसाय गर्छ उसले त्यो व्यवसाय छाडे पनि उसको कर्मको कदर हुन्छ र अरुले अनुकरणको रुपमा लिन्छ’ प्रदेश प्रमुख कुँवरले भने ।

Advertisement

कार्यक्रममा नेपाल बार एसोसियसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरे, नेपाल कानुन व्यवसायी परिषद्का पार्षद मोहन कोइराला लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया