प्रधानमन्त्री रोजगार कोषको कनिका छराइ

समाधान संवाददाता २०७६ साउन २८ गते १४:२६

समाधान ससंवाददाता, काठमाडौं

राष्ट्रिय सभाका सदस्य विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार कोषको दुरुपयोग भएको बताएकी छन् । राष्ट्रिय सभाको विशेष समयमा सांसद रानाले पुँजी निर्माण र रोजगारको दीगो व्यवस्थापन नगरी कनिका छर्ने शैलीमा बजेट वितरण भएको भन्दै विरोध गरेकी हुन् । संविधानमा मौलिक अधिकार र रोजगार ऐन २०७५ समेत बनिसकेको अवस्थामा सरकारको कार्यशैलीले जनता निरास बनेको उनले उल्लेख गरिन् ।

सरकारले नेपाली नागरिकको हितमा काम गर्न नसकेको रानाको आरोप थियो । नेतृ रानाले वास्तविक बेरोजगार पहिचान गरी सीपयुक्त रोजगारको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । सार्वजनिक विकास निर्माणका गतिविधि हेर्दा अनावश्यक ढंगबाट सामाजिक सञ्जालमा देखिनु लाजमर्दो भएको उलने औंल्याइन् ।

Advertisement

कोषको ३ अर्ब १० करोड रुपैयाँ खर्च भएकामा कहाँ सदुपयोग भयो भनी उनले प्रश्न गरिन् । उनले वितरणमुखी बजेटका लागि वैदेशिक ऋण ल्याउने योजनाबारे जानकारी दिन सरकारलाई अनुरोध गरिन् । उनले विदेशी बैंकसँग १३ अर्ब ऋण ल्याउन खोजिएको विषय जनतालाई जानकारी दिन माग गरिन् । ‘जनशक्तिको प्रभावकारी उपयोग हुनुपर्नेमा त्यसो हुन नसक्नुमा सरकार दोषी देखिएको छ,’ उनले भनिन्, ‘३ तहको सरकारबीच छलफल आवश्यक छ ।’

रानाले पोखरा महिला सीप विकास प्रालि सिमलचौरले ५ सय बढी महिला, असाह्य र फरक क्षमता भएकाको संरक्षण गरेको उदाहरण दिँदै दीगो आम्दानी गर्ने उद्देश्यले सञ्चालित घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । घरेलु ढंगबाट उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारसँग छलफलगरी संघीय सरकारले विदेश निर्यात गरी राज्यको आम्दानी बढाउन सघाउ गर्नुपर्ने उनले बताइन् । आइतबार राष्ट्रिय सभामा सांसद रानाले महंगी र भ्रष्टाचारले देशमा आम नागरिक बस्न नसक्ने अवस्थामा पुग्दासम्म सरकारले ध्यानै नदिएको उनले आरोप लगाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया