सेती बगरबाट उद्यमतिर महिला

समाधान संवाददाता २०७६ साउन २८ गते १४:३८

विकास रोकामगर
पोखरा

पोखरा लामाचौरको मुख्य बजार क्षेत्र छिचोलेर केही ओरालो लागेपछि देखिन्छ – एउटा सुकुम्बासी बस्ती । त्यो सुकुम्बासी बस्तीमा जस्तापाताले छाएका करिब ७० घरधुरी छन् । तलतिर सेतो बगिरहेको सेती छ, जो जतिबेला पनि उर्लिंदै बस्तीमा पस्न सक्छ ।

पोखरा १९ गोस्ते (माथिल्लो गोस्तेघाट) बासीको मुख्य आयस्रोत नै सेती नदी हो । बिहानै उठ्छन् र साँझसम्म बालुवा ढुंगा छिमन्दै बस्छन् । प्राय घरका पुरुषले गर्ने त्यो काममा केही समयअघि सम्म महिला पनि सरिक हुन्थे । बगरमा काम नगर्ने महिला घरभान्सामै सीमित थिए ।

Advertisement

कमाइ नहुँदा अरुमा आर्थिक भर पर्नु पर्ने महिलाको अवस्था अब भने फेरिँदै गएको छ । बगरको ढुंगा बालुवा छोडेर त्यहाँका महिला उद्यमी बन्ने बाटोमा लागेका छन् । पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत त्यहाँ ‘बरोजगारी निवारण झोला उद्योग’ खोलिदिएपछि उनीहरु आत्मनिर्भर उन्मुख भएका हुन् ।

गोस्तेकी होममाया गुरुङको दिन पहिले बगरमै बित्थ्यो । बिहानै उठेर खोलामा झरेपछि साँझसम्म त्यतै हुन्थिन् । शारीरिक परिश्रमको तुलनामा आम्दानी एकदमै थोरै । आइतबार उनी उद्योगमै भेटिइन् । ‘महानगरमा बसेर पनि एकदमै पिछडिएको ठाउँमा छौं । धेरैलाई त यो ठाउँबारे थाहै पनि छैन । पहिले त खोलामै निर्भर थियौं । खोला नपसे बेरोजगारी,’ उनले भनिन्, ‘अहिले यो उद्योग खुलेपछि त सबै उत्साहित छन् । बिहानै उठेर यता आउन खोज्छन् ।’ शुस्मी गुरुङ पहिले कुनै काम थिएन । घरमै बसेर उनको दिन बित्थ्यो । कुनै कामको सीप नभएपछि उनी बेरोजगार थिइन् । तर, जब उद्योग खुल्यो उनले कुरुसले झोला बुन्ने तालिम लिइन् । अहिले उनी कतिबेला १० बज्ला भन्ने पर्खाइमा हुन्छिन् । ‘तालिम लिएर काम गर्न थालेको डेढ महिना भो । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म यहीं हुन्छौं,’ उनले भनिन्, ‘सीप सिकेर उद्योगमा काम गर्न थालेपछि दैनिकी नै फेरिएको छ ।’

Advertisement

गोस्ते महिला विकास उपभोक्ता समितिले उपप्रमुखसँग महिला कार्यक्रम योजना अन्तर्गत महानगरबाट १३ लाख रुपैयाँ सहुलियतमा ऋण लिएर सो उद्योग स्थापना गरेको हो । जसको ब्याज ५ प्रतिशत तिर्नुपर्ने हुन्छ । अन्तिम ३ किस्ता मिनाहा गरिदिने व्यवस्था छ ।

कुरुसले बुन्ने तालिम लिएर झोला बुनिरहेकी शान्ति गुरुङ आत्मनिर्भर हुन सकिन्छ भनेरै उद्यमतिर लागेको बताउँछिन् । खोलाको बालुवा निकाल्न छोडेर ५ महिना पहिले झोला बुन्ने तालिम लिन आएकी हुन् । ‘लगातार २ दिन बुन्यो भने एउटा झोला तयार हुन्छ । दिनभर घामपानी खाएर खोलामा बिताउनुभन्दा यतै सजिलो छ,’ उनले भनिन् ।

तानमा कपडा बुनिरहेकी लक्ष्मी कार्की पहिले पनि कपडा बुन्ने काम नै गर्थिन् । तर, पहिले परम्परागत तानले बुन्थिन् भने अहिले मेसिनले । भनिन्, ‘पहिले कम्मरमा बाँधेर काम गथ्र्यौं । धेरै दुख हुन्थ्यो । तर अहिले मेसिनले गर्न थालेपछि सजिलो पनि भएको छ । छिटो पनि भएको छ ।’ उद्योगबाट झोला, कोट, पछ्यौरा लगायत उत्पादन हुने उनले सुनाइन् । उत्पादित सामानको मूल्य सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ ।

उद्योग सुरु भएको १ वर्ष भइसकेको छ । समिति अध्यक्ष करुणा गुरुङले उद्योग स्थापना भएसँगै बस्तीका महिला आत्मनिर्भर हुँदै गएको बताइन् । उद्योग सुरु भइसकेपछि ६ महिना महिलालाई तालिम दिनै लागेको जानकारी दिइन् । ‘काठमाडौंबाट डिजाइनर ल्याएर सीप सिकायौं । पहिले ३ महिना तान बुन्न सिकायौं । पछि ३ महिना अरु मेसिन चलाउन सिकायौं,’ उनले भनिन् ।

उद्योगमा तान बुन्ने ७ जना महिला, मेसिन चलाउने ३ जना, कुरुस बुन्ने ४ जना र झोला लगायतका उत्पादनमा पेन्टिङ लगाउने २ जना महिला छन् । अध्यक्ष गुरुङ उद्योगका लागि कच्चा पदार्थ पोखरामा नपाउँदा काठमाडौंबाटै ल्याउनु परेको गुनासो गर्छिन् । ‘उद्योग त खोल्यौं । तर यसलाई चाहिने सबै सामान काठमाडौंबाट ल्याउनुपर्छ । पोखरामा पाइँदैन पाइएपनि कमसल खालको पाइन्छ,’ उनले भनिन् ।

गुरुङले उद्योगबाट थोरै मात्रामा उत्पादन भइरहेकाले बजारको समस्या नभएको बताउँछिन् । उनले भनिन्, ‘अहिले बजारको त्यति ठूलो समस्या छैन । भर्खर सिक्ने क्रममै छौं । पछि पनि महानगरले नै हेर्छौं भनेको छ । त्यही भएर पनि काम गर्ने हौसला मिलेको छ ।’ उनले सानो उद्योगलाई ठूलो उद्योगका रुपमा विकास गर्ने योजना भइरहेको सुनाइन् ।

महिलाका उत्पादित वस्तु महानगरले कोशेली घरमा राख्छः उपमेयर
पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले उत्पादन गरेका वस्तु महानगरले कोशेली घरमा राख्ने बताइन् । उनले भनिन्, ‘तपाईंहरुले उत्पादित वस्तु बिक्री नहोला कि भन्ने भ्रममा नबस्नुस् । महानगरले कोशेली घर यही आर्थिक वर्षमा बनाउँदैछ । त्यसैमा राख्छौं ।’ गोस्तेमा सञ्चालित उद्योग उप्रममुख गुरुङले आइतबार ‘विधिवत्’ उद्घाटन गर्दै कोशेली घरले महिलाद्वारा उत्पादित वस्तु बिक्री वितरण गरिदिने बताएकी हुन् । पोखरा महानगरले कोशेली घर बनाउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । महानगरमा उत्पादित वस्तुलाई बाह्य पर्यटकलाई बच्ने र उत्पादनलाई ब्रान्डिङ गर्ने महानगरको योजना छ ।

उपप्रमुखसँग महिला कार्यक्रमले धेरै महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको दाबी उपमेयर गुरुङको छ । ‘कोही टेलरिङ खोल्नु भएको छ । कतै सिलाइकटाइ प्रशिक्षण केन्द्र खोल्नु भएको छ,’ उनले भनिन्, ‘यसबाट अब महिलाहरु चुह्लो चौकाबाट बाहिर निस्किनुपर्छ भन्ने विचारको विकास पनि भएको छ ।’

नेपालमा व्यापार व्यवसाय तथा उद्योगमा महिलाको सहभागिता एकदमै न्यून रहेकाले पनि महानगरले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको जानकारी दिइन् । महानगरले अघिल्लो आर्थिक वर्षमा कार्यक्रमका लागि २ करोड विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया