मुक्ति क्षेत्रमा यार्तुङ उत्सव

समाधान संवाददाता २०७६ साउन २८ गते १५:३०

एसके थकाली
जोमसोम

हिमालीपारि भए पनि मुस्ताङ स्थानीय मौलिक कला, संस्कृतिमा धनी छ । तिब्बतीयन कला संस्कृतिसँग मिल्दो यहाँको भाषा, रहनसहन, बोलीचाली र चाडपर्वले उपल्लो मुस्ताङदेखि मध्य मुस्ताङसम्मको परिचय दिन्छ । तल्लो क्षेत्रका थकाली समुदायको संस्कृति भने केही भिन्न छ ।

सदियौंदेखिको मौलिक संस्कृति र परम्परालाई पछिल्लो पुस्ताले बिर्सन थालेका छन् । यही चिन्तालाई हटाउन मौलिक कला, संस्कृति र रीतिरिवाज जोगाउन गाउँका बुढापाका, तन्नेरी र स्थानीय तहले सक्रियता देखाउन थालेका छन् ।

Advertisement

वारागुङ मुक्ति क्षेत्रका १९ वटै गाउँका बासिन्दाको महत्वपूर्ण पर्व हो यार्तुङ पर्व । यहाँका अलग अलग गाउँले आआफ्नै ढंगले यार्तुङ मान्छन् । मुस्ताङ कृषि र पर्यटनमा आधारित छ । बर्खाभरी खेतबारीको काममा व्यस्त रहने यहाँका बासिन्दा काम सकेर यार्तुङ मनाउँछन् । यारको अर्थ बर्खा र तुङको अर्थ हिउद यामको सुरुवात भन्ने हुन्छ । काम सकेर फुर्सदिलो समयमा आपसमा खुसी साट्ने, मिठो खाने, परम्परागत सस्कृतिसँग रमाउने यहाको मुख्य विशेषता हो ।

यसअघि जनप्रिय युथ क्लबले मात्र बर्सेनि गर्दै आएको यार्तुङ महोत्सवमा यस वर्ष भने आयोजकमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पनि थपिएको छ । करिब ३ हजार ८ सय मिटर उचाइमा हिमाली काखमा सोमबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ ।

Advertisement

‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔं’, ‘पर्यटन,संस्कृति कृषि पुशपालन, गुणस्तरीय पूर्वाधार, वारागुङ मुक्तिक्षेत्रको पहिचान र समृद्धको मुल आधार’ भन्ने नारासहित वारागुङ मुक्तिक्षेत्रको अगुवाइमा महोत्सव भएको गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए ।

महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । गुरुङले ऐतिहासिक, धार्मिक र संस्कृतिक दृष्टिले धनी मुस्ताङमा पर्यटनको बलियो सम्भावना रहेको उल्लेख गरे । प्रदेशका ११ वटै जिल्लाको पर्यटनलाई प्रवद्र्धन गर्न गण्डकी सरकारले विशेष प्रकारको योजना ल्याउने उनको भनाइ छ । उनले उपल्लो मुस्ताङमा जियोपार्कको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए । आगामी १० वर्षभित्र गण्डकीलाई गरिब मुक्त प्रदेश बनाउने लक्ष्य उनले सुनाए ।

मुख्यमन्त्री गुरुङले उत्तरी कोरला नाकामा भन्सार लगायतका पूर्वाधार निर्माण गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरे । उनले भारतीय र चिनिया पर्यटक भित्र्याउन यहाँको मौलिक कला, संस्कृति, भेषभुषा र रहनसहनलाई भारतीय जी टिभीमा प्रशारण गर्ने प्रदेशको योजना सुनाए ।

कार्यक्रममा सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद महेन्द्रबहादुर थकाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङ, महिला समूहकी प्रतिनिधि लक्ष्मी गुरुङ र जनप्रिय युवा क्लबका सल्लाहकार नाम्ग्याल वाङ्दी गुरुङले यार्तुङ महोत्सवको औचित्यबारे प्रकाश पारेका थिए ।

महोत्सवअघि मुख्यमन्त्री गुरुङलाई घोडामा सवार गराइएको थियो । महोत्सव उद्घाटनमा विभिन्न सांस्कृतिक नृत्य, स्याब्रो नाँच र झाँकी प्रर्दशन गरिएको थियो । हिमाली याक सवार प्रर्दशनी, खेलाडी मार्च पास, घोडा दौड प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

बिहीबारसम्म हुने महोत्सवमा सेभेन ए साइड फुटबल, परम्परागत तारो हान्ने खेल, घौडा दौड, खानाका परिकार, भेषभूषा प्रर्दशनी, स्याब्रो नाँच र कृषि उत्पादन तथा हस्तकला प्रर्दशनी पनि हुनेछन् ।

तपाईको प्रतिक्रिया