बन्यो श्रम कार्यालयको ‘सर्भर’

समाधान संवाददाता २०७६ साउन २९ गते १२:०३

समाधान संवाददाता
पोखरा

श्रम तथा रोजगार कार्यालय गण्डकीको सर्भरमा आएको समस्या अन्त्य भएको छ । २ दिनदेखि रोकिएको सेवा मंगलबार साँझदेखि सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं केन्द्रीय विभागबाटै नयाँ सर्भर फेरेपछि समस्या समाधान भएको कार्याललय जनाएको छ ।

कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए । जसको प्रत्यक्ष कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई परेको थियो । डिभाइस कहिले बन्छ भन्नेबारे कर्मचारी नै अनभिज्ञ हुँदा दिनहुँ सेवाग्राहीले कार्यालयमै दिन बिताउन बाध्य थिए ।

Advertisement

श्रम तथा वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले ‘माइक्रो टिट डिभाइस’ विभागसँगै जोडिएको हुनाले त्यसमा खराबी आउँदा कार्यालयको सबै सेवालाई प्रभाव परेको जानकारी दिए । ‘यो डिभाइस विभागसँगै लिंक हुन्छ । साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सीधै जोडिएको हुन्छ ।’

सूचना अधिकारी श्रेष्ठले डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित पर्ने भएपछि मंगलबार बिहानदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी सेवा सुरु गरेको बताए । उनले भने, ‘बिहान वैकल्पिक डिभाइसको व्यवस्था गरी सेवाग्राहीको चापलाई ठेग्ने काम ग¥यौं । तर दिउँसो विभागबाटै कर्मचारी आएर नयाँ डिभाइस जडान भइसकेको छ ।’

Advertisement

प्रदेशबाटै श्रम स्वीकृति लिन पाउने गरी कार्यालयको सुरुआत गत पुस २६ गतेबाट भएको हो । अहिले त्यहाँ दैनिक १ सय ६० जनासम्म सेवाग्राही सेवा लिन पुग्ने गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया