तालबाराही गुठी जग्गा जोगाउन ११११ जनाको संघर्ष समिति

समाधान संवाददाता २०७६ साउन २९ गते १२:१०

ईश्वर देवकोटा
पोखरा

गुठी संस्थानले तालबाराही समिधा गुठीको जग्गा भाडा (लिज)मा दिने प्रस्तावको चौतर्फी विरोध सुरु भएको छ । वर्षौदेखि तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिबाट संरक्षण हुँदै आएको जग्गामा आफूखुसी मनोमानी निर्णय गरेर लिजमा दिन लागेको भन्दै सरोकारवालाहरुले चर्को विरोध गरेका हुन् ।

समिधा गुठीको नाममा रहेको झन्डैं ७१ रोपनी जग्गामध्ये ५५ रोपनी जग्गा ३९ वर्षसम्मका लागि लिजमा दिने प्रस्तावविरुद्ध बृहत भेला आयोजना गरी मंगलबार ११ सय ११ जनाको संयुक्त संघर्ष समिति गठन गरिएको छ । तालबाराही मन्दिर गुठी व्यवस्थापनका अध्यक्ष हिकमतबहादुर कुँवरको अध्यक्षतामा उक्त संघर्ष समिति गठन भएको हो । सदस्यहरुमा गण्डकी प्रदेश सभा सांसद राजीव पहारी, वडा नम्बर ६ र १८ का जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, पर्यटन सम्बद्ध समितिहरु रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।

Advertisement

भेलाले गुठीले पोखरा १८ खहरेसिम्पानीस्थित रहेको उक्त जग्गामा बिचौलिया प्रवेश गराई सम्पूर्ण जग्गा हड्प्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको निष्कर्ष निकालेको छ । कित्ता नं. ४१९ मा रहेको झन्डैं ७१ रोपनीमध्ये ५५ रोपनी भाडामा दिन भन्दै गुठी संस्थानले असार १० गते प्रस्ताव आह्वान गरी प्रक्रिया अघि बढाएको थियो ।

स्थानीय सरोकारवालासँग कुनै सल्लाह नगरी एकलौटी निर्णयबाट संस्थानका पदाधिकारी नै जग्गा हत्याउन लागिपरेको उनीहरुको आरोप छ । प्रस्ताव रोक्न संघर्ष समितिले कानुनी परामर्श लिई अदालतसम्म पुग्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयदेखि सम्बद्ध निकायसम्म निरन्तर खबरदारीका लागि पुग्ने निर्णय समेत भेलाले पारित गरेको छ ।

Advertisement

पर्यावरणीय दृष्टिले अति संवेदनशील जग्गाामा जोखिम हुँदाहुँदै भाडामा दिएर संरचना बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने समितिका अध्यक्ष हिकमतबहादुर कुँवरले बताए । ‘मन्दिरको नाममा रहेको सम्पति एकपछि अर्को हरण गर्दै जानु परम्परादेखि चलि आएको हाम्रो संस्कार संस्कृतिमाथिको प्रहार हो,’ भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गुठीको जग्गा लोप हुन जाने खतरा हुँदा भाडामा दिने काम जायज होइन ।’

२०६८ सालसम्म गुठियारका जम्मा ४ घरमात्रै भएको सुनाउँदै उनले गुठी संस्थान र गुठीयारबीच मुद्दा परेपछि खाली जग्गा कब्जा गर्ने कामलाई गुठीयारबाटै थप निरन्तरता दिइरहेको जानकारी दिए । जग्गा संरक्षणको चुनौती भइरहेको बेला संस्थाले भाडामा लगाउने कामलाई तत्काल रोक्न सहभागि सबैले आवाज उठाए ।

२०६७ सालदेखि व्यवस्थित वृद्धाश्रम बनाउन पटकपटक गरिएको पहललाई संस्थानले वास्ता नगरेको उनीहरुको भनाइ छ । उक्त जग्गामा मानवकल्याण हितमा आउन सक्ने गतिविधि र बोटानिकल गार्डेन बनाउन सकिने तर्क समितिले गर्दै आइरहेको छ ।

सांसद पद छाड्न तयार छु, जग्गा भाडामा स्वीकार्य छैनः सांसद पहारी
संस्थानले तालबाराही मन्दिर समिधा गुठीको जग्गा भाडामा दिने प्रस्तावको विरोधमा गण्डकी प्रदेश सभा सांसद राजीव पहारी खरो देखिए । भेलालाई सम्बोधन गर्न पुगेका सांसद पहारीले सार्वजनिक जग्गा स्थानीय नागरिकको भलाइका निम्ति उपयोग गरिनुपर्नेमा बिचौलियाको चलखेल बढाउने गरी ल्याएको प्रस्ताव स्वीकार्य नभएको भन्दै गर्जिए । ‘सार्वजनिक सम्पतिमाथि गिद्दे नगर लगाउन पाइँदैन,’ उनले भने, ‘केही भूमाफियाको प्रलोभनमा परेर मिलोमतोमा जग्गा हडप्न खोज्ने प्रयास विफल पारिन्छ ।’

मन्दिरको सम्पति हिनामिना हुन नदिने उनले बताए । ‘सांसद पद छाड्न तयार छु तर सार्वजनिक सम्पति हिनामिना हुन दिन्न । प्रधानमन्त्री, मन्त्री जहाँ जहाँ जानुपर्छ जाऔं । भूमाफियाविरुद्ध मिलेर लडौं यिनीहरुले पाए भने तालबाराही मन्दिर पनि आफ्नो नाममा दर्ता गर्न बेर लाउँदैनन् ।’ पैसा आउँछ भनेर मन्दिर ठेक्का लगाउने खालको काममा साथ दिन नसकिने उनले सुनाए । चौतफी दबाब सिर्जना गरी अदालतसम्म पुगेर भएपनि संस्थानको प्रस्ताव बदर गराइने उनले बताए ।

मन्दिरको उचित व्यवस्थापन र विस्तारका लागि आम्दानी समेत पारदर्शी बनाउन उनले आग्रह गरे । पुजारीको सम्बन्धमा मासिक तलब वा अन्य व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसबारे पनि समितिले धारणा बनाउन सांसद पहारीले सुझाव दिए । मन्दिर समितिका अध्यक्ष कुँवरले छिट्टै सार्वजनिक भेलाबाट मन्दिरको आयव्यय र पुजारीको सुविधा सम्बन्धमा निर्णय लिइने जानकारी दिए ।

जग्गा भाडामा दिने प्रस्ताव रोक्न पोखरा महानगरपालिकाले समेत साउन २४ गते संस्थानलाई पत्राचार गरिसकेको छ । स्थानीय सरकार र सरोकारवालाबीच सहमति नगरी एकलौटी निर्णयले जग्गा भाडा दिने कार्य नगर्नसमेत महानगरको आग्रह छ । प्रधानमन्त्री कार्यालय, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन लगायतका निकायमा पत्र पठाइसकिएको महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया