घाँटी रेटेर हत्या

समाधान संवाददाता २०७६ साउन २९ गते १२:४२

कृष्ण न्यौपाने
दमौली

तनहुँको बन्दीपुर गाउँपालिका १ डुम्रे बजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका ४ स्थित ढुल्ढुंगाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

डुम्रे बजार किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । शाही खोजीको लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।

Advertisement

सोमबार माछा मार्न जाने क्रममा स्थानीयले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालिमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम सुरु गरिसकेका छौ,’ प्रहरी उपरीक्षक सिलवालले भने, ‘शंका लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’ हत्यामा संलग्न जोसुकै भएपनि चाँडै नै कानुनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।

Advertisement

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुन सक्ने स्थानीय बताउँछन् । ‘४÷५ तोला सुन र ४०÷५० हजार रुपैयाँ उहाँसँग सँधै हुन्थ्यो,’ १ स्थानीयले भने, ‘त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुन सक्छ ।’

तपाईको प्रतिक्रिया