धार्मिक भावना जगाउने उद्देश्यले घार्मीमा शिव पुराण

समाधान संवाददाता २०७६ साउन २९ गते १२:५५

समाधान संवाददाता, पोखरा

ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा पोखरा १९ घार्मीमा शिव पुराण लगाइएको छ । साउन महिनामा भगवान् शिवको महिमा प्रस्तुत गर्ने र नयाँ पुस्तामा धार्मिक भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य मोहनप्रसाद पौडेलले बताए ।

साउन महिना र भगवान् शिवका विभिन्न स्वरुपका विषयमा पं.दीपक सापकोटाले कथावाचन गरेका छन् । ज्येष्ठ नागरिक सरोकार समाजको सहयोगमा भएको पुराण वाचन कार्यक्रममा पुरञ्चौर, लामाचौर, बाटुलेचौर, हरिपाउँ लगायत आसपासका क्षेत्रबाट उल्लेख्य रुपमा भक्तजन उपस्थित भएको मातृभूमि युवा समूहका अध्यक्ष अभिषेक पौडेलले बताए ।

Advertisement

समाजका अध्यक्ष सोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कोमल बास्तोला, कथावाचक दीपक सापकोटा, धार्मिक व्यक्तित्व बिन्दु पौडेल, मोहनप्रसाद पौडेल लगायतले पछिल्लो समय हिन्दु धर्ममाथि विभिन्न तबरले प्रहार भइरहेकोमा चिन्ता व्यक्त गर्दै धार्मिक जागरणमा लाग्न आग्रह गरे ।

त्यस अवसरमा भजन समूहले पुराणको बीचबीचमा भजन कीर्तनसमेत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया