आज महेन्द्रपुलमा तायमचा

समाधान संवाददाता २०७६ साउन ३१ गते १२:३०

समाधान संवाददाता, पाेखरा

नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिति पोखराको आयोजनामा शुक्र र शनिबार हुने गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पूरा भएको छ ।

महेन्द्रपुल सडकमा शुक्रबार दिउँसो २ बजेबाट उद्घाटन कार्यक्रम सुरु हुने संयोजक मानकाजी माकाजुले बताए । उक्त दिन नेवारी सांस्कृतिक नृत्य, वाजा, तथा सांस्कृतिक कार्यक्रम हुनेछ । लाइभ कन्सर्टअन्र्तगत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य ब्यान्ड, तन्त्र ब्यान्ड तथा देउराली ब्यान्डको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक बुद्धराज बुद्धाचार्यले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा ३० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसमध्ये ६ वटा महिला टोली रहने आयोजकले जनाएको छ । ३१ र ३२ गते चल्ने महोत्सवमा चेतनामूलक फेसन सो, लाइभ ब्यान्डमार्फत सांगीतिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातिका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहनेछन् ।

प्रतियोगितामा विभिन्न ८ विधामा पुरस्कार राखिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजारसहित सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुनेले नगद २० हजार सिल्ड तथा प्रमाणपत्र, तृतीयले नगद १० हजार सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । सान्त्वना स्वरुप नगद ५ हजार पुरस्कार गरिने भएको छ ।

Advertisement

विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, वाद्यवादक, उत्कृष्ट परी र उत्कृष्ट जोक्करले २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागी हुने महिला टोलीमध्ये प्रोत्साहन स्वरुप १ टोलीलाई उत्कृष्ट घोषणा गरी १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन विसं २०२६ सालमा सुरु भएको हो । त्यस पश्चात २०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाले प्रतियोगिता गराएका थिए । नेवाः खलः कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटकको जिम्मा महेन्द्रपुलले पाएको हो ।

महोत्सव सम्पन्न गर्न मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएको छ । १७ वटा उपसमितिमा सुरक्षा व्यवस्थापन संयोजक भरत मानन्धर, खाना व्यवस्थापनमा पुष्पलक्ष्मी लाभाजु, अतिथि सत्कारमा ओमलाल बड्गामी, प्रचारमा विकल साई संयोजक छन् । मञ्च व्यवस्थापनमा बुद्ध गुभाजु, साउन्डमा बुद्धराज गुभाजु, स्वयंसेवक परिचालनमा रविन मानन्धर, अर्थमा विष्णुमान कायस्थ, ब्यानर व्यवस्थान संयोजकमा निर्मल जोजिजु छन् । फोटोमा दीपक मुल्मी, सांस्कृतिकमा सुमन मर्सानी, स्वास्थ्यमा इन्द्रकमल मानन्धर, यातायातमा अनन्त कायस्थ संयोजक छन् । छपाइ व्यवस्थापनमा असीम पालिखे, सजावटमा निश्चल श्रेष्ठ, स्टल व्यवस्थापनमा रोशन महर्जन र मायाको चिनो तथा प्रमाणपत्र व्यवस्थापनमा कृष्ण मानन्धर संयोजक छन् ।

तपाईको प्रतिक्रिया