भीषण वर्षाले मादीका सडक अवरुद्ध

समाधान संवाददाता २०७६ साउन ३१ गते १३:१५

समाधान संवाददाता
पोखरा

मादी गाउँपालिकाका सडकमा सवारी अवरुद्ध भएका छन् । बुधबार रातिको भीषण वर्षाले बाटोमा पहिरो गएपछि ग्रामीण सडकमा सवारी अवरुद्ध भएको हो ।

बुधबार दिउँसोदेखि रातभरको वर्षाले काहुँखोला सिक्लेस दूधपोखरी सडक, गाउँपालिकाको केन्द्र कसेरी याङ्जाकोट सडक, राखी मिजुरे र ताङतिङ जाने सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिए । ‘गाउँपालिकाका अधिकांश ग्रामीण बाटा बिग्रिएको खबर आए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ,’ अध्यक्ष गुरुङले भने, ‘शुक्रबारदेखि सडक मर्मत कार्य थालिनेछ ।’ अध्यक्ष गुरुङले सबै बाटो समितिलाई सक्रिय बनाएर १ हप्ताभित्र सबै सडक सुचारु गर्ने जानकारी दिए ।

Advertisement

मादी गाउँपालिका ७ का अध्यक्ष लालबहादुर गुरुङले थाकको उकालोमा पहिरो गएको कारण काहुँखोला, सिक्लेस दूधपोखरी सडक अवरुद्ध भएको बताए । वडाको थाकमा माथिबाट आएको पहिरोले पदमकुमारी कोइरालाको घरमा क्षति पु¥याएको छ । पहिरोले कोइरालाको गोठ बगाउँदा ब्याउने भैंसीसमेत मरेको वडाध्यक्ष गुरुङले बताए ।

उनका अनुसार थाकमै भद्रसिंह विश्वकर्माको घरमाथिबाट पहिरो गएकाले उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । छाचोक अस्थायी प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीय बासिन्दाले क्षति भएको घरबाट सरसामान अन्यत्र सार्ने, पहिरो हटाउने र बाटोको अनुगमन गरेको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया