गुठीको जग्गा भाडामा दिने प्रक्रिया स्थगित

समाधान संवाददाता २०७६ भदौ १ गते १३:२६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति÷संघर्ष समितिमार्फत ज्ञापनपत्र बुझाउँदै ।

तस्बिरः राजीव पहारी

ईश्वर देवकोटा
पोखरा

Advertisement

तालबाराही समिधा गुठीको जग्गा भाडामा दिने प्रक्रिया हाललाई रोकिएको गुठी संस्थान प्रशासक नारायण चौधरीले बताएका छन् । भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्री पद्मा अर्याललाई ज्ञापनपत्र बुझाउन पुगेका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी र मन्त्रीसमेतलाई प्रशासक चौधरीले जग्गा भाडामा दिने प्रक्रिया रोकेको जानकारी गराएका हुन् ।

‘पोखरा महानगरपालिकाले पत्र पठाई जग्गा भाडामा नदिन ध्यानाकर्षणसमेत गराएको थियो,’ टेलिफोन सम्पर्कमा प्रशासक चौधरीले समाधानसित भने, ‘मन्दिर व्यवस्थापनले पनि जग्गा भाडा नदिन भन्दै विभिन्न निकायमा डेलिगेसन गइराखेको हुँदा तत्काल प्रक्रिया अघि बढ्दैन ।’

Advertisement

असार १० र १२ गते गरिएको प्रस्ताव आह्वानमा ५ कम्पनीले आवेदन दिएको उनले बताए । जग्गा भाडामा दिने वा नदिने भन्ने विषयमा तीनवटै सरकार तथा स्थानीय सरोकारवालासँग छलफल तथा समन्वय गर्ने साथै सरकारको निर्देशनअनुसार अघि बढ्ने जानकारी दिए ।

संस्थानले बेलाबखतका पर्व आयोजनादेखि मातहतका मन्दिर, पुजारीको खर्च धान्न खाली रहेका जग्गा भाडामा दिएर आम्दानी गर्ने सोच बनाएको बताए । ‘खाली जग्गा अतिक्रमणबाट रोक्न पनि भाडामा दिने उपयुक्त ठानेका हौं । संस्थानलाई पनि भाडा दिँदा आम्दानी हुने थियो,’ उनले भने । स्थानीय सरोकारवालासँग छलफलपछि मात्रै प्रक्रिया अघि बढाउने उनले बताए । संस्थानको थप धारणा पछि सार्वजनिक गरिने उनले बताए । प्रक्रिया स्थगनका लागि बोर्डमा प्रस्ताव लैजाने तयारीसमेत भइसकेको प्रशासक चौधरीले जानकारी दिए ।

जग्गा भाडामा दिने प्रस्ताव रोक्न पोखरा महानगरपालिकाले समेत साउन २४ गते संस्थानलाई पत्राचार गरेको थियो । स्थानीय सरकार र सरोकारवालाबीच सहमति नगरी एकलौटी निर्णयले जग्गा भाडा दिने कार्य नगर्नसमेत महानगरको आग्रह थियो । महानगरपालिकाले प्रधानमन्त्री कार्यालय, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन लगायतमा पत्र पठाएको थियो ।

पोखरा १८ खहरेसिम्पानीस्थित कित्ता नं ४१९ मा रहेको झन्डै ७१ रोपनीमध्ये ५५ रोपनी जग्गा ३९ वर्षसम्म भाडामा दिन भन्दै गुठी संस्थानले प्रस्ताव आह्वान गरी प्रक्रिया अघि बढाएको थियो ।

गुठी संस्थानले तालबाराही समिधा गुठीको ५५ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रक्रिया रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई सरोकारवाला समूहले शनिबार ध्यानाकर्षणसमेत गराएको छ ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिमार्फत गठित समिधा गुठी जग्गा संरक्षण संघर्ष समितिले काठमाडौंस्थित मन्त्री अर्याललाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । संघर्षसमितिका सदस्यसमेत रहेका गण्डकी प्रदेश सभा सांसद राजीव पहारीले मन्त्री समक्ष असहमतिसहित प्रक्रिया खारेज गराइ पाऊँ भन्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

‘मन्त्रीज्यूलाई हामीले विषयबारे प्रष्ट पार्दै ध्यानाकर्षण गरायौं,’ सांसद पहारीले भने, ‘उहाँले स्थानीय सरोकारवाला, स्थानीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा मात्रै अघि बढ्न संस्थानलाई निर्देशन दिनुभयो ।’ बैदामबासीले वर्षौदेखि संरक्षण गर्दै आइरहेको सार्वजनिक सम्पतिमा एकलौटी निर्णयले कसैले पनि उपभोग गर्न नपाउने प्रष्ट धारणा मन्त्रीसामु राखिएको उनले बताए । मन्त्री अर्यालले संस्थान स्थानीय सरोकारवालाहरुसँग समन्वय गरेर मात्रै अघि बढ्नु संस्थानका प्रशासक नारायण चौधरीलाई सामुन्ने निर्देशन दिएको जानकारी दिए ।

संघर्ष समितिका अध्यक्ष एवं मन्दिरका अध्यक्षसमेत रहेका हिकमतबहादुर कुँवरले मानव कल्याणका लागि प्रयोगमा आउन सक्ने जग्गामा एक्कासि ठूला भवन बनाउने उद्देश्यले प्रस्ताव आह्वान गरिनु दुःखद् भएको बताए । पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष जगतबहादुर पहारी समेत टोलीमा सहभागी थिए । उनीहरुले गुठी संस्थानले आह्वान गरेको प्रक्रिया रोक्न माग गरे ।

समिधा गुठीको नाममा रहेको झन्डै जग्गा लिजमा दिने प्रस्तावविरुद्ध साउन २८ गतेको बृहत भेलाले १ हजार १ सय ११ जनाको संयुक्त संघर्ष समिति गठन गरेको थियो । संस्थानले प्रक्रिया नरोकेसम्म निरन्तर दबाबमूलक कार्यक्रम गरिरहने अध्यक्ष कुँवरले बताए ।

उक्त जग्गामा बिचौलिया प्रवेश गराई सम्पूर्ण जग्गा हड्प्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको सरोकारवालाहरुको भनाइ छ । स्थानीय सरोकारवालासँग कुनै सल्लाह नगरी एकलौटी निर्णयबाट संस्थानका पदाधिकारी नै जग्गा हत्याउन लागिपरेको उनीहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया