‘नेकपालाई सत्ता जोगाउनै पिर’

समाधान संवाददाता २०७६ भदौ १ गते १३:४१

मोहसिन अलि मियाँ
गोरखा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जनताको भन्दा सत्ता जोगाउनकै पिर रहेको समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् । नयाँ शक्ति र संघीय समाजवादी फोरमको जिल्ला समिति समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले नेकपाका नेतालाई देश र जनताप्रति कुनै चासो नभएको र पछिल्लो समय सत्ता जोगाउनतिर मात्रै तल्लीन रहेको बताएका हुन् । ‘कम्युनिष्ट नेतृत्वको सरकारलाई आफ्नै कुर्ची जोगाउनकै धौ धौ छ,’ उनले भने, ‘देशमा स्थितरताको खाँचो छ, देशले विकास र समृद्धि अनि परिवर्तन चाहेको छ तर नेतालाई कुर्चीको बाहेक अरु कुनै मतलब भए जस्तो देखिँदैन ।’

अस्पतालको अभावमा जनताले सामान्य उपचारसमेत नपाउने अवस्था सिर्जना भएको बताउँदै उनले नेताहरु भने उपचार र आरामका नाममा विदेश धाउने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । तल्लो तहसम्म संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै उनले नेपालमा सामाजिक सञ्जाल प्रयोग गरेर चुनाव जित्न सकिने अवस्था नरहेको बताए । ‘नेपालमा फेसबुक, ट्विटरमा प्रचार गरेर चुनाव जित्न सकिने अवस्था बनिसकेको छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेको भट्टराईले भने, ‘चुनाव जित्न संगठन बलियो हुनुपर्छ, जनताको मन जित्नुपर्छ ।’ २ पार्टी एकीकरणले देशमा पार्टीको संख्यामात्रै नबढाएको जिकीर उनको छ । समाजवादी पार्टी जनताले चाहे अनुसार नै अघि बढ्ने बताउँदै भट्टराईले तराई, पहाड र हिमालको संयुक्त नेतृत्वमा पार्टी रहेकाले सबैको साझा थलो रुपमा अघि बढाउने बताए ।

Advertisement

संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौः यादव
नेकपासँग भएको सम्झौता अनुसार संविधान संशोधन नभए सरकारबाट बाहिरिने उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चेतावनी दिएका छन् । जिल्ला समायोजन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्न गोरखा पुगेका यादवले २ तिहाई पु¥याउन नेकपालाई आफूले सहयोग गरेको स्मरण गर्दै शर्त पालना नभए सरकारमा बस्नुको औचित्य नरहने बताए । ‘अहिलेसम्म हामीले पटक पटक भनिसकेका छौं, सरकारबाट हाम्रो माग र भएको सम्झौता कार्यान्वयन हुने कुनै तदारुकता देखिएका छैन,’ समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले भने, ‘शर्त पूरा हुने संकेत नदेखिए हामी सरकारबाट बाहिन्छौं ।’

कम्युनिस्ट नेताहरु संघीयता फाल्नेतर्फ लागेको आरोप उनको छ । प्रचण्डले एमालेसँग आत्मसमर्पण गरेर गल्ती गरेको बताउँदै उनले अहिले प्रचण्डलाई पश्चताप भइरहेको दाबी गरेका छन् । ‘हामीले त धेरै पटक भन्याै, तर प्रचण्डजीले मान्नुभएन, एमालेसँग आत्मसर्पण गर्नु नै थियो भने १० वर्ष किन जनयुद्ध लड्नुभयो ?’ प्रश्न गर्दै यादवले भने ‘भीरबाट हाम्फाल्नुभो, अहिले रोएर बस्नु भएको छ ।’

Advertisement

परिर्वतन रक्षा गर्ने अभिभारा समाजवादी पार्टीलाई आएको बताउँदै उनले अरु पार्टीबाट विकास सम्भव नरहेको दाबी गरे । संघीयता र समावेशिता समाप्त गर्न सरकार लागिपरेको आरोप यादवले लगाए ।

जिल्ला अध्यक्षमा नारायण खत्री चयन
समाजवादी पार्टी नेपालको गोरखा जिल्ला अध्यक्षमा नारायण खत्री चयन भएका छन् । ६५ सदस्यीय समितिमा ४८ जना नयाँ शक्तिबाट र १७ जना संघीय समाजवादी फोरमबाट प्रतिनिधत्व रहने गरी समिति निर्माण गरिएको बताइएको छ । चयन भएका अध्यक्ष खत्री नयाँ शक्तिका नेता हुन् । त्यस्तै उपाध्यक्ष फोरमबाट सुकदेव तामाङ, नयाँ शक्तिका राजेन्द्र पराजुली, शान्ता न्यौपाने, सचिव नयाँ शक्तिका विपीनचन्द्र ढकाल, सहसचिव फोरमका तेजबहादुर गुरुङ, कोषाध्यक्ष नयाँशक्तिका मीनबहादुर विक चयन भए ।

घोषणा कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता अशोक राई, कमला गुरुङ, रमेशबाबु श्रेष्ठ, हरिशरण आचार्य, गोपालबाबु श्रेष्ठ, रमेश पोखरेल, तेजबहादुर गुरुङ लगायतले समेत सम्बोधन गरेका थिए । चयन भएको समिति पदाधिकारी एवं सदस्यलाई गण्डकी प्रदेशका पार्टी अध्यक्ष मोती रिजालले सपथ ग्रहण गराएका थिए ।

तपाईको प्रतिक्रिया