‘एसपी, डिएसपी चिन्या छु’ भन्दै पैसा असुल्न खाज्ने १ जना पक्राउ

समाधान संवाददाता २०७६ भदौ २ गते १२:०७

समाधान संवाददाता
पोखरा

पोखरा १८ बस्ने विनोदबहादुर भट्टराईलाई साउन १ गते ३ जना युवाले मिलेर कुटपिट गरे । कुटपिटबाट उनको टाउको गहिरो चोट लाग्यो र कुरा प्रहरी कार्यालयसम्म पुग्यो । उनकै बयानका आधारमा प्रहरीले ३ जना आरोपितलाई नियन्त्रणमा लिई अनुन्धान थाल्यो ।

विषय अनुसन्धानकै क्रममा थियो । प्रहरीले कुटपिटमा संलग्न ३ जनालाई कानुनबमोजिम मुद्दा लगाउने तयारी पनि थालिसकेको थियो । तर, त्यहीबेला भट्टराईले नयाँ भूमिका खेले । उनले प्रहरीले नियन्त्रणमा लिएका ती ३ जना आरोपितका परिवारलाई भेटे र भन्न थाले, ‘मैले कास्कीका एसपी, डिएसपी चिन्या छु । मलाई ३ लाख ५० हजार रुपैयाँ देऊ केस मिलाइदिन्छु ।’

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीले भट्टराईको भनाइ उदृत गर्दै अगाडि भने, ‘यो ज्यानमारा केसमा पनि जान सक्छ । ३ वर्ष त जेल हुन्छ । तुरुन्त मलाई पैसा ल्याऊ । कुरा मिलिहाल्छ ।’ प्रहरीले भट्टराईलाई लागेको चोटको भरपाई गरी उनलाई न्याय दिलाउने गरी काम गरिरहेको थियो । तर, उनले उल्टै प्रहरीको बदनाम गर्नतिर लागे ।

प्रत्येक दिनजसो भट्टराईले आरोपितका परिवारसँग ‘बार्गेनिङ’ गर्न थालेपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई साउन २६ गते पक्राउ गरेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । ‘पटकपटक कास्कीका एसपी डिएसपी चिन्या छु भन्दै पैसाको मोटो रकम माग्दै आएका रहेछन्,’ एसपी कार्कीले भने, ‘अहिले हामीले पक्राउ गरी कानुनी पक्रिया अगाडि बढाइसकेका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया