मदन पुरस्कार ‘रणहार’ लाई

समाधान संवाददाता २०७६ भदौ २ गते १३:२६

समाधान संवाददाता, काठमाडौं

यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँला दिइने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा—श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो । ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृतिमध्येबाट सात कृति छनोट गरेको हो ।

सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ’विचारको लास’ पुरस्कारका लागि सिफारिस भएका थिए ।

पब्लिकेसन नेपालयको ‘रणहार’का मुख्यपात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल थिए । रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए । भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।

उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए । पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित छ ।

अठारौं शताब्दी सिंगो भारतीय उपमहाद्वीपकै लागि उथलपुथलको समय थियो । लगभग सम्पूर्ण जसो क्षेत्रमा इस्ट इण्डिया कम्पनीले धमाधम कब्जा जमाइरहेको थियो । त्यही बेला यता हिमालयको मुनी रहेका ससाना पर्वते राजा रजौटाहरु पनि आ–आफ्ना प्रभुत्व जोगाउने र बढाउन लागिपरेका थिए । त्यो बेला नेपालखाल्डोका तीनवटै राज्य आकर्षणका केन्द्र थिए ।

यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालिन समयको लडाईंको कथा भनेको छ ।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्यसमेतकै विनिर्माण गरेको छ । पुस्तकले तत्कालीन राज्यका शासक र नागरिक कसरी आफूलाई एउटै मूल हाँगोबाट छुट्टिएको ठान्थे र एकै बोली बोल्थे भन्ने चर्चा पनि गरेको छ ।आपसमा लड्ने, भब्य मन्दिर र प्रासाद बनाउन प्रतिस्पर्धा गर्ने अनि मर्दापर्दा सुखदुःखमा सामेल पनि हुने उनीहरु नै फेरि सत्ता, भूमि, ग्रह, नक्षत्र र पुँजी हडप्नका निम्ति अन्तस्कलहमा पनि अल्झिरहने विवरण पुस्तकमा वर्णित छ ।

जतिबेला रणजीत मल्ल ब्यूँझिए त्यतिन्जेल धेरै ढिला भइसकेको थियो । गुमेको राज्य त अब फर्कँदैन थियो । तर, जीवनको अर्थ पहिल्याउन भने अझै केही समय उनीसँग थियो । त्यस्तो बेलामा उनले के गरे ? पुस्तकले त्यसैको सेरोफेरोमा आफूलाई केन्द्रित गरेको छ ।

रणजीतले जय र पराजयलाई आफू भएरै गुज्रिनदिए । रणजीतको त्यो जीत थियो वा हार भन्ने निष्कर्षमा पुग्न पाठकहरुलाई मद्दत गर्नु नै पुस्तकको मुख्य उद्देश्य हो । पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ । यसको भाषाले पाठकलाई तत्कालिन भक्तपुर विचरणको यथार्थ नजिकको काल्पनिक अनुभूति गराउँछ ।

तपाईको प्रतिक्रिया